पुनः नियुक्ति हुने भन्दै मन्त्री पद गुमाएका ७ पूर्वमाओवादी नेताले सरकारी निवास छाडेनन्

diyopost.com
दियो पोस्ट  बिहिबार, जेठ १३, २०७८ | ०:०९:०१

काठमाडौं । मन्त्री पद गुमाएका सात पूर्व माओवादी नेताहरुले अहिले पनि सरकारी क्वाटर छाडेका छैनन् । सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्रिपरिषद बैठकमा सहभागी भएका छैनन् । मन्त्रालय पनि नगएका उनीहरु मन्त्रीको सरकारी निवास भने छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताका अनुसार उनीहरु पुनः मन्त्री नियुक्तिको आशामा सरकारी निवासमै बसिरहेका हुन् ।

मन्त्री पद गुमाएका नेता टोपबहादुर रायमाझीले आफूहरुलाई पुनः नियुक्तिको गृहकार्य भइरहेको बताए । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेपछि नेताहरु बादल, रायमाझी, भट्ट, साह र चौधरीले सांसद पद गुमाएका थिए, त्यस्तै मणि थापा र दावा लामा भने पहिले पनि सांसद थिएनन् । सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधानअनुसार उनीहरु मन्त्री नियुक्त भएका थिए ।

तर प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वास गुमाएर पदमुक्त भएपछि उनीहरु पनि पदमुक्त हुन पुगे । प्रधानमन्त्री ओली धारा ७६(३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा पुनः नियुक्त भएपछि उनले पुरानै क्याविनेटका मन्त्रीलाई निरन्तरता दिए ।

त्यतिबेला अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले सांसद सदस्य नरहेका व्यक्ति मन्त्री पदमा पुनः नियुक्त हुन नसक्ने भन्दै रिट दायर गरे र सर्वोच्चले सातै जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको यस्तो आदेशपछि पनि केही नेताले पुनः मन्त्री नियुक्त हुने आशा राखेका छन् । अहिले संसद नरहेको अवस्थामा संसद सदस्यताबारे योग्यता नचाहिने दावी गर्दै उनीहरु पुनः नियुक्तिको पर्खाइमा छन् ।

तर पूर्वगृहमन्त्री बादलको सचिवालयले मन्त्री क्वार्टर छोड्ने काम भइरहेको प्रतिक्रिया दिएको छ । पूर्वउद्योगमन्त्री लेखराज भट्टले दुईरचार दिनमा मन्त्री क्वार्टर छोड्ने बताएका छन् ।

सम्बन्धित खबर