यी हुन् वीरगन्जमा सर्जिकल पसलेमाथि बुट र लठ्ठी हान्ने भाइरल डिएसपी !

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । प्रहरी कर्मचारीको गैर व्यावसायीक आचरणका कारण सिंगो प्रहरी संगठन नै बद्नाम हुँदै आएको छ । केही ठूला पदमा बसेकाहरुले बर्दीको आडमा सडकमा सर्वसाधरणमाथि दादागिरी देखाउँदा प्रहरी संगठनमाथि विभिन्न प्रश्न उठ्न थालेको छ । एक प्रहरीका कारण फेरी यतिबेला सामाजिक सञ्जाल तातेको छ ।


सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोका कारण २ नम्बर प्रदेश प्रहरी प्रदेश कार्यालयलाई नै तनाव भएको हो । त्यस्ता विवादित डिएसपी हुन्– प्रल्हाद कार्की ।

उनले एउटा सर्जिकल पसलमा पसेर बर्दीमै बुट लठ्ठीले प्रहार गरेको भिडियो यतिबेला चर्चामा छ । उनलाई कारबाही गर्नुपर्ने माग गर्दै विभिन्न ठाउँबाट आवाज उठेपछि २ नम्बर प्रहरी कार्यालयले उनीमाथि छानबीनका लागि एसपी कृष्ण प्रसाइको नेतृत्वमा छानबीन समिति गठन भएको छ ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई कुटेका थिए । भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीले पसलमा सीसीटीभी जडान रहेको भेउ नै पाएनन् ।

सर्जिकल हाउसको छेउमै रहेको किराना पसल बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको आरोपमा डीएसपीले कुटपिट गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले बताए । भिडियोमा डिएसपी कार्कीले लठ्ठी र बुटले कुटपीट गरेका छन् । डिएसपी कार्कीले मोबाइल समेत खोसेर लगेका थिए ।


वीरगन्जमा यतिबेला निषेधाज्ञा छ । विहान ८ बजेसम्म मात्रै तरकारी तथा खाद्यान्न पसलहरु खोल्न दिने प्रशासनले जनाएको छ । डिएसपी कार्कीको टोली गस्तिमा निस्किएका थिए । सोही क्रममा सर्जिकल पसलका अफरेजले भिडियो खिचेका थिए । नजिकैको किराना पसलेलाई कुटपीट गरेको भिडियो खिचेको भन्दै उनीमाथि कुटपीट भएको हो ।

सिफारिस