
चितवन, १३ जेठ । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले एक दलिन परिवारमाथि भएको निर्घात कुटपीट घटनामा जाहेरी लिन अस्विकार गरेको छ । प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि पीडित परिवार जिल्ला प्रहरी कार्यालय हुँदै विभिन्न निकाय धाउँन बाध्य भएका छन् ।
वागमती प्रदेश प्रहरी कार्यालयबाट सर्वोत्कृष्ठ घोषणा भएका प्रहरी निरिक्षक सुवास भट्टले पीडितको जाहेरी समेत लिन अस्विकार गरेको खुलाशा भएको हो ।

यही जेठ ११ गते मंगलबार पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ स्थित स्थानीय सेते श्रेष्ठ र उनकी श्रीमती चिनीमाया श्रेष्ठले जातीय गालीगलौज गर्दै सोही वडाकी कल्पना परियार र उनका छोरा अमृत परियारलाइ निर्घात कुटपीट गरेका थिए ।
मंगलबार साँझ सेते दम्पत्तिले ‘थुक्क दमिनी । आज फेरि दमिनीको अनुहार हेर्नुपर्यो ।’ भन्दै जातीय गाली गलौज गर्दैं कुटपीट गरेको घटना सार्वजनिक भएको थियो ।
स्थानियका अनुसार सेतेकी परिवारले कल्पनालाई पटक पटक ‘श्रीमान टोकुवा र दमिनी अछुत भन्दै धम्की दिँदै आएका थिए ।
दुई छोरी र एक छोराकी आमा कल्पना परियार एकल महिला हुन । श्रीमानको मृत्युपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई लगायत सबै जिम्मेवारी उनी एक्लैले हेर्दै आएकी छिन् ।
पीडित कल्पना र अमृतको भरतपुरस्थित ‘अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर’मा उपचार भइरहेको कल्पनाकी छोरी पुजा परियारले जानकारी दिइन् । अमृतको कुमनेरको जोर्नी भाँचिएको छ भने कल्पना सामान्य घाइते भएकी छिन् । पीडित परिवारले जाहेरी लिएर इप्रका कार्यालय खैरहनी जाँदा प्रहरीले जाहेरी लिन अस्विकार गरेको हो । ‘फिल्डमा गएर अनुसन्धान गरेपछि मात्रै जाहेरी लिने हो भनेर जाहेरी लिएनन्,’ पीडित परिवारको पक्षमा आवाज उठाउँदै आएकी सिमा घतान विश्वकर्माले भनिन्,‘खैरहनीले जाहेरी नलिएपछि हामी जिप्रका चितवन पुग्यौँ । जिल्लाले घटना जहाँ घटेको सोही स्थानमा जान भनेपछि फेरी खैरहनी नै फर्कियौँ । बेलुका ८ बजेसम्म धर्ना बस्यौँ तैपनि दर्ता भएन । ईन्सपेक्टरसँग झगडा नै गरेपछि एउटा चिर्कटो दिएको छ । तर, त्यसमा चलना नम्बर छैन ।’
पीडित परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक भट्टलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले ‘कम्युनिकेशन इरर’ भएको प्रतिक्रिया दिए । उनले आफूले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको बताए । यद्धपी अपरेशनको पाटो भने इलाका प्रहरी कार्यालय भण्डाराले हेर्ने उनको दाबी छ । पीडित परिवारले नै दोहोरो कुरा गरेको उनको आरोप छ । ‘एउटा पक्ष आएर मिल्ने कुरा गरेर जानु हुन्छ । फेरी अर्को कुरा हुन्छ,’ उनले भने ।