काठमाडौं, १३ जेठ । सात राजनीतिक दल सम्बद्ध ट्रेड युनियन महासंघहरुले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको ठहर गरेका छन् ।
उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमको विरोध गरेका हुन् । यो कदमलाई महासंघहरुले संघीय गणतन्त्र सिध्याउने षडयन्त्र र प्रतिगमन भएको ठहर गरेका छन् ।
कोरोना महामारीले जनता अक्सिजन र भेन्टिलेटर नपाएरै मृत्युवरण गरिरहेको बेला सरकारले जनताको जीवन रक्षा गर्नुको सट्टा निर्वाचनको घोषणा गरेर मानवीय नरसंहार निम्त्याएको उनीहरुको आरोप छ ।
यस्तो छ विज्ञप्ति
महासंघहरुको प्रेस विज्ञप्ति
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानवाट प्राप्त सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधानको मूल्य, मान्यता, भावना र प्रावधान विपरित प्रधानमन्त्री के.पी. शर्मा वली सरकारवाट २०७८ जेष्ठ ८ गते मुलुकलाई थप अनिश्चितता र अन्यौलता तर्फ धकेल्दै निरंकुशता र अधिनायकवाद लाद्ने गलत मनसायवाट प्रेरित भई गरिएको जन निर्वाचित संस्था—प्रतिनिधि सभाको विघटन प्रति तपशीलमा उल्लेखित हामी सवै श्रमिक संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
पटक पटक संसद भङ्ग हुँदा देशमा अस्थिरता र जनअधिकार समेत कुण्ठित हुन जाने देखिएकोले संसद पुरा अवधि चल्न सकोस भन्ने मनसायका साथ नेपालको संविधान २०७२ को धारा ७६ मा राखिएको व्यवस्थाको इमान्दारीका साथ कार्यान्वयन नगरी संसदमा विश्वासको मत प्राप्त गर्न असफल अल्पमतमा परेका प्रधानमन्त्रीको सिफारिसमा सम्मानित राष्ट्रपतिवाट हठात मध्येरातमा संसदको विघटन गरी कोभिड भ्याक्सिनको अभावमा दैनिक सयौं नागरिकले जीवन गुमाई रहेको र सबैले भ्याक्सिन प्राप्त नगरेको अवस्थामा सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरु समेत परिचालन हुन नसक्ने हालको अत्यन्तै प्रतिकूल समयमा नयाँ निर्वाचनको घोषणा गरिएको छ, यो कदम असवैधानिक र अलोकतान्त्रिक छ, संवैधानिक प्रावधान, प्रजातान्त्रिक मूल्य र मान्यता विरुद्ध छ,तर्सथ यो मुलुकलाई पुनः प्रतिगमनको वाटो तर्फ लैजाने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ ।
यतिखेर सम्पूर्ण नेपाली जनता कोभिड–१९ महामारीको प्रभाववाट आक्रान्त भई जीवन र मृत्युको दोसाँधमा ज्यान बचाउन संघर्षरत छन् । अक्सिजन, भेन्टिलेटर, औषधि, आइसियू, बेड लगायतका आधारभूत स्वास्थ्य सेवाको अभावमा दिनहुँ सयौंले मृत्युवरण गर्न वाध्य छन् । यस विपत र महासंकटको घडिमा सम्पूर्ण राष्ट्रिय शक्ति एकतावद्ध भई जनताको जीवन रक्षाका लागि खटिनु पर्ने आवश्यकता हो, तर त्यसको बिपरित मुलुकको सरकार प्रमुख र राष्ट्र प्रमुख असंवैधानिक, अनुचित र अवाञ्छित राजनीतिक खेलमा तल्लीन भई संवैधानिक निकायहरु, व्यवस्थापिका र स्वतन्त्र न्यायपालिका माथि समेत हस्तक्षेपकारी भुमिका खेल्दै अन्ततः संविधानलाई समाप्त पार्ने गरी मध्यरातमा प्रतिनिधिसभालाई हठात विघटन गर्ने निन्दनीय कार्यको हामी घोर भत्र्सना गर्दछौ ।
कोभिड–१९ को महामारी नियन्त्रण गर्न लामो समय देखि पटक पटक हँुदै आएको बन्दाबन्दी र निषेधआज्ञाको कारण मुलुकको अत्यावश्यक सेवा बाहेक उत्पादन तथा सेवाका सम्पूर्ण आर्थिक गतिविधिहरु अबरुद्ध भएका छन । यसले मुलुकको आर्थिक र सामाजिक अवस्थामा गम्भीर असर पारेको छ । दैनिक ज्यालामा काम गर्नेलगायत स्वरोजगार तथा अनौपचारिक श्रमिकहरु गाँस र बासको समस्याले प्रताडितछन् । श्रमिकहरुको जीवन र जीविका दुवै दाउमा लागेको यस विषम परस्थितिमा अधिनायकवादी र स्वेच्छाचारी के.पी. वलीको वर्तमान सरकार जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको दोश्रो पटक विघटन गरी नागरिकता लगायतका सम्वेदनशील अध्यादेशहरु जारी गर्दै संसदिय विधि र पद्धति विपरित शासन संचालन गर्न उद्धत छ । देशमा स्थिरता, सम्वृद्धि र विकास प्रति देखिएको जनमतप्रति अपमान,वेइमानी र ठूला धोका भएको छ ।
अन्तमा, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ विगतका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमजीवि वर्गल सदैव अग्रपंक्तिमा रहि गरेको संघर्ष, योगदान र वलिदानको उच्च सम्मान र स्मरण गर्दै नेपाली जनताको लामो संघर्षवाट स्थापित उपलव्धिको रक्षार्थ सम्पूर्ण श्रमजीविवर्ग एकतावद्ध भई संघर्षरत रहने प्रतिवद्धता व्यक्त गर्दछौं । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षार्थ वर्तमान सरकारले अलोकतान्त्रिक र असंवैधानिकरुपमा जनप्रतिनिधिमूलक संस्था मासेर लाद्न थालेको निरंकुश र अधिनायकवादका विरुद्ध सम्पूर्ण राजनैतिक दल एवं नागरिक समाज एकतावद्ध भई अघि बढ्न हार्दिक अपिल गर्दछौं ।
श्रमजीविहरुको तर्फबाट
श्री पुष्कर आचार्य, अध्यक्षः नेपाल ट्रेड युनियन काँगे्रस
श्री जगत सिम्खडा, अध्यक्षः अखिल नेपाल ट्रेड युनियन महासंघ
श्री विश्वनाथ प्याकुरेल, अध्यक्षः पेसागत महासंघ नेपाल
श्री लालकुमार लामा, अध्यक्षः राष्ट्रिय प्रजातान्त्रिक ट्रेडयुनियन महासंघ
श्री इन्द्रदेव मिश्र, अध्यक्षः नेपाल समावेशी ट्रेड युनियन महासंघ
श्री नवराज दाहाल, अध्यक्षः समाजवादी ट्रेड युनियन महासँघ नेपाल
श्री चिरागमान सिंह कुवर, अध्यक्षः राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल