त्रिपुरासुन्दरी गाउँपालिकामा ‘ब्रम्हलुट’ : गिटी बालुवा ठेक्कामा अनियमितता गरेको खुलाशा !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १४ जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपलिकाका उच्च अधिकारीले गिटि बालुवा निकासी ठेक्कामा चरम अनियमितता गरेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन विपरित बैंक जमानत समेत नलिएर ठेक्का दिएको पाइएको हो ।


गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने लपाङहाइड्रो बगुवा खोला (खण्ड घ) को नदिजन्य पदार्थ ढुंगा, गिटी, बालुवा संकलन निकासी करको ठेक्का खोलेको थियो । बैंक जमानत बिनै गाउँपालिकाले देउपुर निर्माण सेवालाई ठेक्का दिएको थियो । ठेक्का सम्झौतामा गाउँपालिका अध्यक्ष शम्भु बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनी र लेखा अधिकृत हरि शरण सोतीले हस्ताक्षर गरेका छन् ।


गाउँपालिकाले २०७७ भदौ २८ मा ठेक्का आह्वान गर्दा ठेक्का प्रस्तावमा सहभागी हुने फर्मले कबोल गरेको धरौटी रकम कार्यालयको मेगा बैंकको सल्यान्टार शाखामा जम्मा गर्नुपर्ने शर्त राखेको थियो । तर, धरौटी रकम बिनै गाउँपालिकाले शुरुमा देउपुर निर्माण सेवालाई ठेक्का दिएको हो ।

उक्त कम्पनिमा समलग्न रहेका सुजन बुढाथोकी नेकपा एमालेको ओली समुहको प्रभावशाली व्यक्ति भएका कारण यसरी ठेक्का दिएको गाउँपालिका उच्च स्रोतले जानकारी दिएको छ । त्यति मात्रै होइन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत व्यक्तिहरुलाई आर्थिक प्रभावमा पारेको स्रोत बताउँछ ।


पछिल्लो समय देउपुरले निकासी कर समेत गाउँपालिकामा दाखिला नगरेपछि गाउँपालिाकका उच्च अधिकारीले अर्को सेटिङ मिलाएका थिए । गाउँपालिकाले बिएस विल्डर्स ललितपुरको नाममा निकासी कर असुल्न थालेका छन् ।

देउपुर निर्माण सेवालाई गाउँपालिकाले शुरुमा उक्त खण्डको३१ लाख ३७ हजार रुपैयाँको निकासी कर ठेक्का दिएको थियो ।


‘पहिले बैंक जमानत बिनै ठेक्का दिइयो । फेरी अहिले पैसा दिन सकेन भनेर पालिकाले हस्तक्षेप गरेर आफै रसिद काटेको छ,’ गाउँपालिका सम्बद्ध स्रोतले भन्यो,‘गाउँपालिका आफैले रसिद काटेर पैसा उठाउन कुन नियममा पाइन्छ । यो त ब्रम्हलुट भएन र ? गाउँपालिकाले आफै काटेको रसिदमा अनियमितता र गोलमाल गरेको आशंका हामीलाई छ ।’


यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनी पनि गाउँपालिकाले ठेक्का लगाएपनि सम्झौता अनुसार काम नभएपछि हस्तक्षेप भएको बताउँछन् ।


‘ठेक्का हाल्दा दुई वटा फर्मले मात्रै हालेका थिए । एउटा सम्झौता गर्न नआएपछि एउटा मात्रै भयो । शुरुको धरौटी रकम राखेर हामीले पुरै लगाएको हो,’ ईटनीले दियोपोस्टसँग भने,‘सम्झौता अनुसारको पैसा नदिएपछि हामीले रोकेको हो । विभिन्न गोलमाल भएछ । हामीले यहाँबाट ईश्यु गरेका रसिदहरु बुझाउनु भनेका छौँ ।’

उनका अनुसार अहिले गाउँपालिका आफैले निकासी कर उठाइरहेको छ । ‘अहिले हामीले आफै रसिद काटेका छौँ । त्यो हाम्रो आफ्नै भित्रको भो नी त,’ ईटनीले भने,‘पालिका भित्र चारवटा खण्ड खण्डको ठेक्का खोलिएको रहेछ ।’