उज्वल थापाको उपचारमा दुर्गा प्रसाईंको आर्थिक सहयोग नलिने विवेकशिलको घोषणा !

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्वल थापाको उपचार खर्च परिवार, आफन्त र पार्टीले नै गर्ने भएको छ ।

उपचार खर्च आफूले व्यहोर्ने भन्दै झापास्थित बिएण्डसि अस्पतालका मालिक दुर्गा प्रसाइँले विज्ञप्ति निकालेपछि विवेकशिल नेपाली दलका अध्यक्ष मिलन पाण्डेले उनलाई सद्भावका लागि धन्यवाद दिँदै सहयोग रकम आवश्यक नपर्ने जानकारी दिएका हुन् ।


पाण्डेका अनुसार उनको उपचारमा परिवार, आफन्त र विदेशबाट २२ हजार २ सय ९१ डलर अर्थान २६ लाख ५० हजार रुपैयाँ खातामा जम्मा भएको छ ।


‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन÷प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ,’ पाण्डेले विज्ञप्ति भनेका छन्,‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’