ठगीको आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

दियो पोस्ट  

 

काठमाडौं,। सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ परेका छन् ।

खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका वडा नम्बर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरुले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।