“उत्पादन वृद्धि र आत्मनिर्भरता बनाउनु पनि चुनावी बजेट हो ?”

बजेट २०७९/०८०

दियो पोस्ट  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको स्थायित्व, स्थिरता, वित्तीय क्षेत्रको परिचालन बजेटको प्राथमिकता रहेको बताएका छन् । आइतबार संसद्मा बजेट प्रस्तुत गरेपछि सोमबार मन्त्रालयमा बजेट प्रस्तुत गर्दै उनले कृषिमा साना किसान मात्रै नभएर ठूला–ठूला कृषि फार्म सञ्चालन गर्न र उद्योग खोल्न ५० वर्षलाई उद्योगलाई लिजमा दिने घोषणा गरेको उनले दाबी गरे ।

यसअघि, १५ वर्षलाई दिने व्यवस्था रहेको र १५ वर्षपछि के गर्ने भन्ने डर हुने गरेको भन्दै ५० वर्षसम्म उद्योगलाई लिजमा जग्गा दिने घोषणा गरेको उनले बताए । उनले बजेटले अगाडि सारेका कार्यक्रम परिचालन गर्दा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भए पनि उक्त लक्ष्य पूरा हुने दाबी गरे ।

उनले सरकारले चुनावी बजेट आयो भनेर आलोचना भइरहेको भन्दै ‘उत्पादन बढाउनु र आत्मनिर्भर बनाउँछु भन्नु पनि चुनावी बजेट हुन्छ ?’ भन्दै प्रश्न गरे । “चुनावी बजेट भनेको सुनिन्छ, बजेटमा के कुरा चुनावी छन्, यसअघिका कार्यक्रममा केही थोरै तलमाथिबाहेक के नयाँ चुनावी कुरा छ । उत्पादन गर्नु, आत्मनीर्भर हुनुपर्छ भन्ने चुनावी कुरा हो ? उनले प्रश्न गर्दै भने, “कर्मचारीको तलब ३ वर्षमा बढानुपर्ने कानुनी व्यवस्था छ, त्यो चुनावी कुरा हैन ।”

किसान पेन्सन पनि योगदानको आधारमा भनेको सरकारले थप १० प्रतिशत दिने भनेको भन्दै त्यो चुनावसँग सम्बन्धित नभई उत्पादनसँग सम्बन्धी रहेको उनले दाबी गरे । “किसानको सम्मान नगरी उत्पादन बढ्छ ? किसान पेनस किसानको सम्मानको लागि हो ।” उनले भने ।

उनले बजेटमा राष्ट्रप्रति जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भनेर कोसिस गरेको भन्दै अहिले जति सकिन्छ त्यति गर्ने प्रयास गरको दाबी गरे ।

सम्बन्धित खबर