दियोपोस्ट । धादिङ्गको थाँक्रे गाउँपालिका ७ सातकिल्लास्थित ठाडोखोलामा सञ्चालित एक ढुंगाखानी स्विकृत क्षेत्र भन्दा अन्यत्र सञ्चालन भएको खुलाशा भएको छ ।
खानी तथा भूगर्भ विभागले २०७८ जेठ २३ मै स्थलगत अनुगमन गरि श्री कुमारी माता रोडा ढुंगा उद्योगले स्विकृत क्षेत्र भन्दा अन्यत्रै गैरकानुनी रुपमा उत्खनन् गरेको भन्दै कारबाही सिफारिस गरेको पाइएको हो ।
तर, थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले अवैध रुपमा स्विकृत क्षेत्र भन्दा अन्यत्र दोहन गरिरहेको खानीलाई कारबाही गर्नुको सट्टा खानी विभागले पठाएको पत्र नै गायब पारि उक्त खानीसँग राजश्व संकलन गरि नविकरण गरिदिएको कागजात समेत फेला परेको छ ।
खानी संचालकहरु मनोज सिग्देल, तुल्सी पोखरेल लगायतको समुहको आर्थिक प्रभावमा परि स्विकृत क्षेत्रभन्दा अन्यत्रै उत्खनन् गर्ने अवैध खानीलाई कारबाही गर्नुको सट्टा नविकरण गरिदिएको पाइएको हो । विभागबाट खटिएको जिओलोजिस्टको टोलीले रेको अनुसन्धानमा उक्त खानीले स्विकृत क्षेत्रभन्दा बाहिर अव्यस्थित खानी उत्खनन् गरेको र खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ बमोजिम कारबाही गरि विभागलाई समेत जानकारी गराउन श्री थाँक्रे गाउँपालिका धादिङ्गलाई समेत पत्राचार गरेको थियो । तर उक्त पत्रलाई रहस्यमयी रुपमा गायब पारिएको समेत खुलाशा भएको छ ।
उक्त खानीले खानी तथा भूगर्भ विभागबाट धादिङ्ग जिल्लाको तत्कालिन थाक्रे गाविस वडा नम्बर ३ अन्तर्गत टोपोसिट नम्बर २७८५—०५ मा पर्ने लामिडाँडाको खोल्सी र कामीटार खोल्सीको दोभानलाई स्विकृत क्षेत्रको रुपमा लिएको छ । तर, खानी संचालकहरुले स्विकृत क्षेत्र भन्दा बाहिर गई हाल ठाडो खोला बगिरहेको खोला नै सारेर सातकिल्ला भन्ने स्थानमा अवैध रुपमा उत्खनन् गरि सार्वजनिक खोला र खानेपानीको मुहान समेत उत्खनन् गरि क्षति पु¥याई रहेका छन् । स्थानिय अमर बहादुर थापाको त ११ रोपनी खेतीयोग्य खेत बिच भागबाटै धाँजा फाटी क्षेती भएको अवस्था छ । तर, पटक पटक क्षेतिपूर्ति दिन्छु भन्दै ढाँटछल गरिँदै आएको छ । त्यस्तै अवैध रुपमा चलेको खानीभन्दा केही मिटर माथी मात्रै प्रजाहरुको वस्ती छ । स्थानिय सुयोग प्रजाको जमिन पनि खानीकै कारण भाँसिएको छ ।
यस्तो अवैध खानीलाई गाउँपालिका अध्यक्ष आचार्यकै मिलेमतोमा २०७९ पुस २ गतेको मितिमा नविकरण गरि २०८० असार मसान्तसम्मका लागि म्याद दिइएको छ ।
गाउँपालिका अध्यक्ष आचार्यकै संलग्नता र निर्देशनमा खानी विभागले कारबाहीका लागि दिएको सिफारिस समेत गायत्र पारिएको छ । सुचना अधिकारी पुरनचन्द्र आचार्यका अनुसार कुमारी माता रोडा ढुंगा उद्योगले निर्धारित क्षेत्र भन्दा अन्यत्र खानी सञ्चालन गरेको सम्बन्धमा विभागले पठाएको पत्र अहिलेसम्म फेला परेको छैन । तर, दियोपोस्टले निरन्तर खोज गर्दा उक्त कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने भेटिएको छ । विभागले अख्यितारलाई बोधार्थ दिएर पठाएको प्रतिवेदन र कारबाही सिफारिस पत्रमा ५ बुँदामा उद्योगमाथि कारबाही सिफारिस गरिएको छ । जसमा स्विकृत माईनिङ्ग स्किम अनुसारको क्वारी लिमिट भन्दा बाहिर गई उत्खनन् गरेको ठहर गरिएको छ । तर तालुकदार निकाय गाउँपालिकाले कारबाही गर्नुको सट्टा यस्तो अवैध खानीलाई नविकरण गरि राजश्व समेत असुल गरिएको पाइएको हो ।
खानी सञ्चालक सम्पर्क विहिन
अवैध खानी संचालन गर्ने मनोज सिग्देललाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनका फोन अफ छ । यता अर्का संचालक बताउने तुलसी पोख्रेलको मोबाइलमा फोन गर्दा स्विकृत खानी क्षेत्रबारे आफूलाई कुनै जानकारी नभएको बताए । सिग्देल विदेश भ्रमणमा गएको र उनलाई नै सबै विषय जानकारी हुने उनले बताए । सिग्देलको भाइबर तथा ह्वाट्स एपमा सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
यता थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यलाई उद्योगले स्विकृत क्षेत्र भन्दा अन्यत्रै गैरकानुनी उत्खनन् गरेको भनेर खानी विभागले स्थलगत अनुगमन प्रतिवेदन तयार गरि कारबाही सिफारिस समेत गरेपछि गाउँपालिकाले के कारबाही गर्यो भनि प्रश्न गर्दा कुनै ठोस जवाफ दिन सकेनन् ।
‘खानी विभागले अनुगमन गर्नुअघि नै २०७८ वैशाखमा स्थानियबासीसँग बैठक गरी खानी बन्द गराएको उनको दाबी छ । तर, विभागको सिफारिस के थियो भन्ने आफूलाई थाहा नभएको बताए ।
नविकरण कसरी भो भन्ने दियोपोस्टको प्रश्नमा समेत उनले टालटुले र आँेठे जवाफ दिए । कार्यालयको राजश्व शाखामा आफूहरु नबस्ने भएका कारण खानी संचालकहरुले राजश्व बुझाएर थाहा नै नदिई नविकरण गराएको उनको दाबी छ ।