श्री लालीगुराँस सहकारी कालोसुचीमा पर्दै, सर्वसाधरणको ८ अर्बबढी रकम जोखिममा !

दियो पोस्ट  

काठमाडौं, १७ पुस । ललितपुरको पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था नै अन्तत कालोसुचीमा पर्ने भएको छ । सिन्धुपाल्चोकको लार्चामा रहेको भैरवकुण्ड हाइड्रोपावरका कारण सहकारी नै कालोसुचीमा पर्ने भएको हो । सहकारी कालोसुचीमा परेपछि कारोबार सबै रोक्का हुन्छ । कर्जा सुचना केन्द्रले सहकारीलाई कालोसुचीमा राखेपछि सर्वसाधरणको ८ अर्बभन्दा बढी रकम जोखिममा पर्ने भएको छ ।

पटक–पटक ऋण तिर्न आउन आग्रह गर्दा समेत ऋण तिर्न नआएपछि गत चैत्रमा हाइड्रोपावर लिलामीको सुचना प्रकाशन भएको हो । ८० करोडभन्दा बढी लगानीमा निर्माण भएको भनिएको उक्त हाइड्रोपावरमा सहकारीको बचतकर्ताको करोडौँ रकम समेत लगानी छ । तर, सहकारीका बचतकर्ताको रकम त फस्यो नै अन्य बचतकर्ताको निक्षप रकम समेत निकाल्न नमिल्ने गरि सहकारी असार मसान्त भित्रै कालोसुचीमा पर्ने अवस्थामा पुगेको छ ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

उक्त हाइड्रोपावरले सानिमा बैंकको अगुवाईमा सहवित्तिय कर्जा अन्तर्गत बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसि एशिया बैंक, मन्जु श्री फाइनान्स र ग्लोबल आइएमइ बैंकसँग ४० करोड ऋण लिएको थियो ।

उक्त जलविद्युत आयोजनामा सहकारी नै संस्थागत जमानीकर्ता रहेको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी समेत व्यक्तिगत जमानी कर्ता रहेका थिए । तर, उनले आफू कालोसुचीमा पर्ने भएपछि अदालतमा मुद्दा हालेर अड्काइरहेका छन् । उनी उक्त हाइड्रोका संचालक समेत हुन् । चैत्रमा प्रकाशित सुचनामा उनको नाम उल्लेख गरिएको छैन । तर, गत वर्ष नै कान्तिपुर दैनिका प्रकाशित ३५ दिने सुचनामा भने संचालकहरु मध्ये पहिलो नम्बरमै भण्डारीको नाम उल्लेख छ ।

 

राजधानीको कमलपोखरीमा कार्यालय रहेको उक्त हाइड्रपावरमा सुरेन्द्र भण्डारी, अर्जुनबहादुर थापा, डोरबहादुर भण्डारी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्चु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विष्णु बहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनामा सञ्चालक रहेका छन् ।

 

श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफूहरुले उक्त हाइड्रोपावरमा शेयर लगानी गरेको बताउँदै आएका छन् ।

 

हाइड्रोपावरमा सहकारीको शेयर नै छ भनिएपनि दियोपोस्टले प्राप्त गरेको कागजातमा भने हाइड्रोपावरले श्री लालीगुराँस सहकारीबाट ऋण लिएको देखिन्छ ।

सन् २०१७ जुन ५ मा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ३ करोड ८५ लाख ऋण लिएको देखिन्छ ।

विवादित बनेको यो हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई सेयर निस्काशन गर्ने र सोमध्ये जिल्लाका स्थानीयबासीलाई ६ करोड ५० लाखको सेयर निस्काशन गर्ने तयारी गरेको थियो । तर जिल्लाका स्थानियलाई झुक्याएपछि स्थानियबासी आक्रोशित बनेका थिए ।
सहकारीले आफ्नो वार्षिक प्रतिवेदनमा भने कोरोना भाइरसका कारण पब्लिक शेयर जारी गर्न नसकेको बताउँदै टार्दै आएको थियो ।