एकदिवशिय विश्वकप क्रिकेटः अस्ट्रेलियाद्धारा वेस्ट इण्डिजसामु २ सय ८९ रनको लक्ष्य प्रस्तुत

दियो पोस्ट  

काठमाडौँ, जेठ २३ । एकदिवशिय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ४९ ओभर खेल्दै १० विकेटको क्षतिमा २ सय ८८ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि नाथन कल्टर नाइलले सर्वाधिक ९२ रन बनाए । उनले ६० बलमा ४ छक्का र ८ चौका हिर्काएका थिए । टोलीका अन्य ब्याट्सम्यानहरुले असामान्य प्रदर्शन गरेपछि नाथन कल्टर नाइल र स्टेभन स्मिथले पारि सम्हालेका थिए । स्मिथ र नाइलको साझेदारीले टोलीलाई १ सय ६५ रनको योगदान गर्यो । व्यक्तिगत रुपमा स्मिथले ७३ रन बनाए । उनले १०३ बलमा ७ चौका प्रहार गरेका थिए । खेलको ओपनरका रुपमा मैदान प्रवेश गरेका डेभिड वार्नर र र कप्तान एरोन फिञ्च क्रमश ३ र ६ रन बनाउँदै बाहिरिएपछि अस्ट्रेलिया दबावमा परेको थियो । फितलो ब्याटिङ गरेका ग्लेन म्याक्सवेल शुन्य रनमै पवेलियन फर्के ।

खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि एलेक्स क्यारीले सन्तोषजनक योगदान गरे । उनले ५५ बलमा ७ चौका प्रहार गर्दै ४५ रन बनाएका थिए । त्यस्तै मार्कस स्टोनेसले १९ रन बनाउँदा उसमान ख्वाजा १३ रन बनाउँदै पवेलियन फर्के । खेलको अन्ततिर मैदान प्रवेश गरेका मिचेल स्टार्क र प्याट कमिन्सले ८ र २ रनमात्र बनाए ।

वेस्ट इण्डिजका लागि कार्लोस ब्राथवेल्टले तीन विकेट लिए । सेल्डोन कोट्रेल, आन्द्रे रसेल र ओशेन थोमसले २÷२ विकेट लिए भने जेसन होल्डरले एक विकेट लिए । शुरुवातमा निकै नै उत्कृष्ट फिल्डिङ र बलिङ गरेको वेस्ट इण्डिजले खेलभरि आफ्नो प्रदर्शनलाई निरन्तरता दिन नसक्दा अस्ट्रेलियालाई दबावमा राखिरहन सकेन ।

एकदिवसिय विश्वकप २०१९ को सिरिजमा अस्ट्रेलिया र वेस्ट इण्डिज दुबैका लागि दोस्रो खेल हो । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि सात विकेटकै जित हात पारेको थियो।