‘साढे २ करोड काण्ड’ छताछुल्ल भएपछि निलकण्ठ नगरपालिकाका प्रशासकिय अधिकृत हटाइए !

दियो पोस्ट  

दियोपोष्ट संवाददाता,

धादिङ, २३ जेठ । धादिङको निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले मनोमानी रुपमा २ करोड ४९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको विषयलाई लिएर नगरपालिका भित्र चर्को विवाद भएको छ ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याललाई नगरपालिकाका मेयर ढुंगानाले हटाएका छन् । अर्याल कार्यरत रहेको निलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा शिक्षा शाखाका उप–सचिव लक्ष्मण प्रसाद बस्याललाई नियुक्त गरिएको छ ।

अर्यालले निलकण्ठ नगरपालिकाका मेयर ढुंगानाले गैरकानुनी रुपमा बिनियोजन गरेको साँढे २ करोड रुपैयाँ खर्च गर्ने प्रस्तावमा ‘आफू असहमत रहेको र खर्च गर्न सक्दिन’ भन्ने अडान लिएको कारण उनलाई हटाइएको नगरपालिका स्रोतले दियोपोष्टलाई जानकारी दियो ।


उनलाई जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ ।


कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनका बीच मेयर ढुंगानाले २ करोड ४९ लाख रुपैयाँ मनोमानी रुपमा आफू निकटस्थहरुलाई बिनियोजन गरेको विषयमा दियोपोष्टले खबर छापेको थियो ।

लकडाउनमा नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाको रजाइँ : साँढे २ करोड मनमौजी, पार्टीलाई लाखौँ !

जेठ ८ गते नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले एकलौटी रुपमा बजेट बिनियोजन गरेको थियोे । उपमेयर मनराज भण्डारीसहित केही जनप्रतिनिधिलाई बाइपास गरेर विभिन्न क्षेत्रमा रकम बिनियोजन गरिएको थियो । नगरसभाको निर्णय विपरित आगामी नगरसभाबाट पारित गराउने भन्दै ढुंगानाले विभिन्न क्षेत्रमा २ करोड ४९ लाख बिनियोजन गरेका हुन् ।

ढुंगानाले आफू र आफ्नो पार्टी नेपाली कांग्रेस निकट वडामा धेरै बजेट खन्याएका थिए । नेपाली कांग्रेसले जितेको वडा नम्बर ७ मा उनले ८ वटा योजनामा बजेट खन्याएका थिए ।

नगरपालिकाका प्रवक्ता तथा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गौतमहरी अधिकारी सो वडाका वडाध्यक्ष हुन् । उनको वडामा मात्रै ५४ लाख २५ हजार रुपैंया छुटइएको नगरपालिकाको निर्णयमा देखिन्छ ।

त्यस्तै नेपाली कांग्रेसबाट निर्वाचित मेयर ढुंगानाले जिल्ला पार्टी कार्यालय निर्माणका लागि समेत लाखौं रकम छुट्याएका थिए ।

बैठकको निर्णय अनुसार वि.पी स्मृति भवन मर्मत संभारका लागि १० लाख रुपैयाँ छुट्याएका थिए । धादिङको बीचबजार मिलनटोलबाट भित्र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय अवस्थित छ ।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकिय अधिकृत अर्याललाई दियोपोष्टले सम्पर्क गर्दा आफूलाई कार्यपालिकाको निर्णय थाहा नभएको बताएका थिए । तर, निर्णयमा भने उनको हस्ताक्षेर थियो ।