दियोपोष्ट संवाददाता
धादिङ, जेठ २८ । जिल्ला अस्पताल धादिङमा एम्बुलेन्सको हाहाकार छ । धादिङ अस्पतालले काठमाडौं रिफर गरेका अधिकांश गर्भवति महिलालाई पृथ्वी राजमार्गमा चल्ने एम्बुलेन्सको सहारमा काठमाडौं पुर्याइन्छ ।
तर, गत जेठ २२ गते जिल्ला अस्पताल धादिङको एम्बुलेन्स र अस्पतालकै अर्को बा १ च ७८४४ नम्बरको गाडी नेपाल भारत सिमा वीरगन्जको रक्सौल पुग्यो ।
एउटा गाडीमा अस्पतालकै सञ्चालक समिति अध्यक्ष महेन्द्र धमला सवार थिए । सरकारी एम्बुलेन्स र अर्को गाडी कुनै गम्भिर विरामी लिन वा पुर्याउँन होइन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) त्रिभुवन चन्द्र झालाई लिन गएको थियो ।
गत चैत्र पहिलो हप्तादेखि नै जिल्ला अस्पताल हाजिर नभएका झा करिब साढे २ महिनासम्म भारतमै बसे ।
स्रोतका अनुसार भारतको नयाँ दिल्लीमा रहेको उनको ससुराली घरमै उनले साढे २ महिना बिताए । यस विषयमा दियोपोष्टले अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई सम्पर्क गर्दा उनले लकडाउनका कारण भारतमै मेसु झा फसेको बताएका थिए ।
नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहँदा जिल्ला अस्पताल धादिङका कार्यालय प्रमुख भारतमै थिए । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बिदाको दिनमा समेत स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई कार्यालयमा हाजिर हुन लिखित निर्देशन दिएको थियो ।
उनै झा लकडाउन जारी रहँदै २ वटा गाडीको तामझाम सहित नेपाल फर्किए । भारतबाट आएका अधिकांश नागरिक क्वारेन्टाइनमा बसेका छन् । जिल्ला अस्पताल अगाडीकै निलकण्ठ क्याम्पसमा १६ जना भारतबाट आएका नागरिकलाई कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको छ । तर, जिल्ला अस्पतालकै कार्यालय प्रमुख झा भने क्वारेन्टाइनमा बस्न अस्विकार गरेको स्रोतले जनाएको छ ।
कोरोना परिक्षण बिनै भारतबाट आएका झा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष ‘अपरेशन थियटरसम्म’ पुगेको जिल्ला अस्पताल पुगेका एक विरामीका आफन्तले बताएका छन् ।
सामान्य नागरिकलाई २ हप्तासम्म क्वारेन्टाइनमा राख्ने प्रशासनले भने मेडिकल सुपरिटेन्डेन्ट झालाई खुलमखुल्ला बजार क्षेत्रदखि अस्पतालको शल्यक्रिया कक्षसम्म आउजाउ गर्न दिएको छ ।
‘भारतबाट आएका निलकण्ठ क्याम्पसमा क्वारेन्टाइनमा बसेका १६ जनालाई कोरोना देखियो भन्ने आएको छ । तर भारतबाटै आएका मेसु बजारमा मात्रै होइन अपरेशन कक्षसम्म पुगेको देखेको छु,’ उनलाई नजिकबाट चिन्ने एक व्यक्तिको प्रश्न छ,‘उनलाई कुन शक्तिको आडमा बजार डुल्न र अपरेशन थियटरमा जान दिइएको छ । १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने होइन र ?’
३० लाख घाटामा पुगेको धादिङ अस्पतालका हाकिम चढ्न नयाँ गाडी किनिँदै
गत भदौमा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट भएर आएदेखि नै त्रिभुवन चन्द्र झा कार्यालयमा अक्सर मात्रै पुग्थे ।
भदौमा उनी एक हप्ता मात्रै हाजिर भएको स्रोत बताउँछ । नेपाल मेडिकल एशोसियसन (एनएमए)को चुनाव ताका उनी सदस्य पदका आकांक्षी थिए । प्रदेश स्थित सामाजिक विकास मन्त्रालयसँग अनुमति नलिई उनी पुस र माघमा चुनाव प्रचारमै लागे ।
धादिङमा भएका ठूला सवारी दुर्घटनामा परेका विरामीको उपचारमा झा समलग्न थिएनन् । विश्वभर कोरोना भाइरस कोभिड १९ महामारी फैलिएपछि नेपालमा समेत त्यसको प्रभाव पर्न थाल्यो । सरकारले गत चैत्र ११ गतेदेखि मुलुकलाई पूर्ण लकडाउन गर्यो ।
झा भने कारोना महामारीकै भारतको नयाँ दिल्लीमा रहेको उनको ससुराली घरमा लुकेर बसे । लकडाउन जारी रहेकै बेला तामझाम सहित फर्किएका उनले अस्पतालको बजेटमा मनोमानी गर्न शुरु गरेको पाइएको छ । अस्पतालमा रहेका कर्मचारीहरु कोरोना महामारीबीच कसरी घर परिवार पाल्ने भन्ने चिन्तामा छन् । किन भने महिनौदेखिको प्रोत्साहन भत्ता रोकिएर उनीहरुको रोजीरोटीमा समस्या परिसकेको छ ।
जिल्ला अस्पताल नै ३० लाख घाटामा छ । यता सरकारले कोरोना महामारीका बीच नयाँ गाडी नकिनेर मितव्ययीता अपनाउन निर्देशन दिइरहेको बेला धादिङ अस्पतालमा मेसु झाको निर्देशनमा अस्पतालले कार्यालय प्रमुख चढ्नका लागि नयाँ गाडी किन्न टेन्डर आह्वान गरेका छन् । जसरी हुन्छ बजेट सक्न लागि परेका झाको निर्देशनमा अस्पतालले गरेको टेन्डर सुचनामा डबल क्याप भएको पिकअप भ्यान खरिदका लागि आह्वान गरिएको छ ।
अस्पतालले जारी गरेको उक्त सुचनामा कम्पनि र गाडीको ब्राण्ड उल्लेख गरिएको छैन । डबल क्याप पिकअप भ्यानलाई ५० लाखदेखि १ करोडसम्म पर्न आउँछ । तर, ब्राण्ड र कम्पनि नै नखुलाई खरिद गर्न लागिएको गाडीमा समेत अध्यक्ष धमला र झाको स्वार्थ मिलेको स्रोत बताउँछ । त्यसैले टेन्डर सुचनामा गाडीको मुल्य समेत उल्लेख गरिएको छैन ।
अध्यक्ष धमला भन्छन्,‘मेसुलाई लिन एम्बुलेन्स लिएर गएको हुँ, गाडी किन्न प्रदेश सरकारले निर्देशन दिएको छ’
दियोपोष्टले धादिङ अस्पताल सञ्चालक समितिका अध्यक्ष महेन्द्र धमलालाई सम्पर्क गर्दा आफू मेसु झालाई लिन रक्सौलसम्म पुगेको स्विकार गरे ।
‘उहाँ दिल्लीमा जानु भएको थियो । उहाँको मिसेसको प्रब्लम थियो । दिल्ली जानु भएको २ दिनपछि लकडाउन भइहाल्यो । फेरी विदेशमा हुने नेपाली यता आउथ थालेपछि उहाँ पनि आउनु भएको हो,’ उनले भने,‘हामीले छुट्टै गाडी लिएर जाँदा संक्रमण हुन्छ भनेर एम्बुलेन्स लिएर गएका हौँ । त्यो एम्बुलेन्स कोरोना मैत्री छ । उहाँँलाई एम्बुलेन्समै ल्याएर क्वारेन्टाइनमा राखेका छौँ । हिजो स्वाव परिक्षण गरेर हेटौँडा पठाएका छौँ ।’
धमलाले मेसु झालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जानकारी दिए । तर, अस्पतालका एक सेवाग्राहीले भने आफूले मेसु झा अस्पताल र बाहिर समेत हिडेको देखेको बताए ।
गाडी खरिदको विषयमा भने उनले प्रदेश सरकारसँग माग गरेपनि प्रदेश सरकारकै निर्देशनको आधारमा खरिद गर्न लागिएको प्रतिक्रिया दिए । ‘प्रदेश सरकारले जिल्ला अस्पतालबाटै टेन्डर गरेर गाडी लिनुस् भन्नुभएको छ । मापदण्ड अनुसार सुचना निकालेका हौँ । प्रदेशबाटै आएको हो,’ धमलाले भने ।
गाडी खरिद, एम्बुलेन्समा सयर र क्वारेन्टाइन उलंघनको विषयमा प्रतिक्रिया लिन अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट झाको मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।