ओली निकट व्यक्तिले चलाएको रेष्टुरेन्टको पार्किङ स्थल बनाउन हाम्रो टिमको खानास्थल भत्काइयो !

दियो पोस्ट  

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट व्यक्तिले पार्किङस्थल बनाएको अनामनगरस्थित सरकारी जग्गामा खाना बनाएर समाज सेवा गर्दै आएका हाम्रो टिम नेपालका अभियान्ता पक्राउ परेका छन् ।


राजधानीको सिंहदरबार पूर्वीगेट स्थित अनामनगरमा रहेको युनियन हाउसले विगत विगत १० वर्षदेखि कब्जा गरेर पार्किङ गर्दै आएको सरकारी जग्गामा केहीदिन यता हाम्रो टिम नेपालले खाना पकाएर गरिब तथा असहायलाई निशुल्क वितरण गर्दै आएको थियो ।

उक्त स्थानमा उनीहरुले मेलम्ची बाढीबाट प्रभावितका लागि खाध्यान्न र ब्ल्यांकेट लगायत सामग्री समेत राख्दै आएका थिए ।

तर, प्रधानमन्त्री कार्यालयकै निर्देशनमा हाम्रो टिम नेपालका संयोजक विमल पन्त सहित १८ जनालाई पक्राउ गरिएको हो । नगर प्रहरी र नेपाल प्रहरीले खाना पकाउने स्थल र सहयोगको रुपममा आएको लत्ता कपडा समेत भताभुंग पारिदिएका छन् ।


विगत १० वर्षदेखि अवैध रुपमा कब्जा गरेर हाल एक अनलाइनका मालिक समेत रहेका मनोजराज पाण्डेले युनियन हाउसको पार्किङ बनाएर राखेपनि सरकारले कुनै कारबाही गरेको थिएन ।

जनतासँग प्रधानमन्त्री कार्यक्रम मार्फत चर्चामा आएका पाण्डे सञ्चारकर्मीको आवरणमा विभिन्न पेशा व्यावसायमा क्रियाशिल छन् ।

उनीद्वारा सञ्चालित अनलाइन उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली अस्वस्थताका बावजुत पनि दरबारमार्ग आइपुगेका थिए ।


उनै पाण्डेद्वारा सञ्चालित युनियन हाउस नामक रेष्टुरन्टलाई एक दशकसम्म निशुल्क पार्किङ गर्न दिएको सरकारले अहिले समाजसेवामा क्रियाशिल हाम्रो टिम नेपालका अभियान्तालाई सरकारी जग्गा कब्जाको आरोप लगाएको छ ।

पाण्डेले ‘प्रधानमन्त्रीको मान्छे हुँ’ भन्दै चन्दा आतंक मच्चाएको समेत सार्वजनिक भएको थियो ।

उनीद्वारा सञ्चालित अनलाइनलाई मासिक ४ लाखको दरले विज्ञापन दिन मुलकका २७ वटा बैंकलाई प्रधानमन्त्री कार्यालयबाटै पत्राचार समेत भएको थियो ।

स्रोतका अनुसार उनै पाण्डेको रेष्टुरेन्टको पार्किङका लागि हाम्रो टिम नेपाललाई त्यहाँबाट हटाउन पक्राउ गरिएको हो । सरकारी मान्छेकै निर्देशनमा सिंहदरबार बृत्तका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

रेष्टुरेन्टका लागि सरकारी जग्गा कब्जा : ‘जनतासँग प्रधानमन्त्री’का सञ्चालक मनोजराज पाण्डे नै मालिक !