काठमाडौं । एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले यही असार ३ र ४ गते केन्द्रीय पदाधिकारी बैठक आयोजना गरेको थियो । तर, हिजो असार १ गते महासचिव दिपक जिएमले बैठक स्थगित गरेको सुचना सामाजिक संजाल मार्फत केही नेताले पत्तो पाए । तर, यसरी पटक पटक बैठक स्थगित भएपछि युवा संघ भित्र असन्तुष्टि बढ्न थालेको छ ।
महासचिव जिएमद्वारा हस्ताक्षरित सुचनामा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निर्देशनमा बैठक स्थगित भएको जानकारी छ । उनले अर्को बैठकको मिति समेत निश्चित नगरी स्थगितको सुचना सार्वजनिक गरेका छन् । उक्त सुचनामा माधव नेपाल, झलनाथ खनाल, महासचिव बेदुराम भुसाल, विजय पौडेल, गंगालाल तुलाधर र दिलु पन्तलाई बोधार्थ दिइएको छ ।
तर, पदाधिकारीले नै बैठक स्थगितको सुचना भने सामाजिक संजालबाट सार्वजनिक भएपछि थाहा पाएको बताए । ‘मैले पनि बैठक स्थगित भएको सामाजिक संजालबाट थाहा पाएँ । तर, यसरी बैठक स्थगित गरिरहँदा आम कार्यकर्तामा नकरात्मक प्रभाव पर्न सक्छ,’ कोषाध्यक्ष दिपक दुवाडी भन्छन्,‘संगठनलाई विधिसम्मत हिसाबले चलाउनु हामी सबैको दायीत्व हो । तर, यसरी बैठक स्थगित गर्दा कार्यकर्तामा राम्रो सन्देश गएको छैन ।’
संगठनका अध्यक्ष नरेश शाहीले पार्टीको केन्द्रीय कमिटिको बैठक भएका कारण अध्यक्ष नेताहरुको निर्देशनका बैठक रोकेको बताए । ‘अहिले सामाजिक संजाल प्रभावकारी भएको छ । जसरी भएपनि नेता कार्यकर्तामा सुचना पुग्नुपर्ने हो । हामीले त्यही गरेका हौँ । पहिले चिठी पत्र हुन्थे । अहिले नयाँ प्रविधि आएको छ,’ शाहीले दियोपोस्टसँग भने ।
यस विषयमा प्रतिक्रिया लिन महासचिव दिपक जिएमलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
अपडेट
केहीबेर पछि सम्पर्कमा आएका महासचिव दिपक जिएमले सबै नेताहरुलाई आफूले एसएमएस गरेको बताए । बैठक स्थगितको कारण पनि आफूले सामाजिक संजालमा सार्वजनिक भएको पत्रमै उल्लेख गरेको उनले बताए । कतिपयले म्यासेज नहेरेको हुनसक्ने उनको आशंका छ ।