काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् । उनीहरु आज पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढीले उक्त पार्टीमा प्रवेश गरेका हुन् ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीब कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, सकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मनमुटुमा धक्का पुगेको उनको भनाई छ । उनले आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको सुनाए । उनले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको रुपमा दर्ज गरे ।
उनले सबै युवाको भविष्यका केन्द्रविन्दु भएकै कारण नागरिक उन्मुक्ति पार्टी प्रवेशमा लहर बढेको दाबी गरे । थारुले शोषण, दमन, अत्याचारमा परेका हजारौ व्यक्तिहरुको नजरमा आफ्नो पार्टी प्रिय भएको समेत जिकिर गरे ।
त्यस्तै, नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको बिरुद्धमा स्थापना भएको भएको बताए । चौधरीले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएकोे पनि टिप्पणी गरे ।
उनले राज्यले सुनियोजित रुप्मा फसाएका राम्रा व्यक्तिहरु रेशम चौधरी र लक्ष्मण थारु आज एकै ठाउँमा जोडिएकोमा खुशी लागेको प्रतिक्रिया दिए । टिकापुर घट्नाको स्मरण गराउँदै उनले शान्तिपुर्ण आन्दोलनको क्रममा गैरराजनीतिक रुपले अनागरिकजस्ता विभिन्न ट्याग लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर रेशम चौधरीलाई थुनाएको टिप्पणी गरे ।
उनले रेशम चौधरीजस्तो निर्दोष र ईमानदार व्यक्तिलाई फसाउने नेताहरुलाई चुनौती दिन आफ्नो पार्टी तयार रहेको बताए । उनले भने,‘अब हामी अभियान लिएर देशको यात्रामा हिँडेका छौं । राष्ट्र निर्माणको लागि जनजातीको भूमिका देखाउन आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गरियो ।
उनले टिकापुर घट्नामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताए । उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भएपनि हत्यारा नभएको दाबी गरे ।
आफु बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको जानकारी दिए । थारुले न्याय माग्दै जादाँ नागरिक उन्मुक्ति पार्टीमा निशर्त प्रवेश गरेको र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत स्पष्ट पारे ।
नवप्रवेशी नेत्र जैशीले नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय स्वरुप लिन लागेको बताए । उनले न्यायको लागि सबै आफ्नो पार्टीमा गोलबद्ध हुनुपर्नेमा जोड दिए ।
उनले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा सात पालिकामा मेयर÷उपमेयरसहित विभिन्न पदमा ९९ जना पार्टीबाट निर्वाचित भएको जानकारी दिए । उनले भजनीमा प्रमुख, टिकापुर नगरपालिकामा प्रमुख, जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ज्योतीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष विजयी भएको सनाए । अब आउने संघीय र प्रदेशको चुनावमा पनि धेरै स्थानमा पार्टीले जित हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।
पण्डितले रेशम चौधरी आज व्यक्ति नभई मुद्दा, माग र पहिचान भएको टिप्पणी गरे । राज्यले गरेको विभेदविरुद्ध जन्मिएको पार्टीको स्थापना भएको सुुनाउदै रेशम चौधरी थारु भएकै कारणले अन्यायमा परेको बताए ।
उनले रेशमको न्यायको लागि आफ्नो पार्टीलाई आगामी चुनावमा मतदान गर्न पनि आग्रह गरे । उनले भने,‘संघको निर्वाचनमा सबै आदिवासी, उपेक्षित, जनजातीहरुले मतदान गर्नुहोस्, आज निर्दोष व्यक्ति जेलमा छ ।’ टिकापुर घटना आफुले प्रत्यक्ष देखेको भन्दै उनले रेशम चौधरी निर्दोष रहेको पनि दाबी गरे ।
उनले ०७२ सालको उक्त आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको स्पष्ट पारे । उनले रेशम चौधरीलाई बहुमुखी प्रतिभाको धनी व्यक्तिको रुपमा चित्रण गरेका थिए ।
पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले टिकापुर घटना राजनीतिक घट्ना भएको उल्लेख गर्दै रेशम चौधरी निर्दोष हुँदाहुँदैपनि जेलमा राखिएकोमा गुनासो पोखिन् ।