
काठमाडौं । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि कुनै दलमा आवद्ध नभएका पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ अभियान घोषणा गरेका छन् ।
कम्युनिस्ट पार्टी एकताका लागि भन्दै गौतमले ३ महिने अभियान थाल्ने भएका छन् । आज दिउँसो ३ बजे घोषणा हुने उनको अभियानमा अन्य व्यक्तिहरु समेत सामेल हुँदैछन् ।
निर्वाचन आयोगमा दर्ता भएका र नभएका ५ वटा दलसँग मिलेर उनले अभियान घोषणा गर्दैछन् । यसअघि माओवादी केन्द्र र एमालेको एकताका लागि अभियान घोषणा गरेका गौतमले केही विवादित व्यक्तिलाई समेत अभियानमा जोडेका छन् ।
वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियान हुनेछ । र यसको संयोजक गौत्म रहेनेछन् । पदाधिकारीमा भने डिवी कार्की रहेनछन् । उनलाई महासचिव दिने तयारी रहेको स्रोतको दाबी छ उक्त दलमा ६९ जना केन्द्रीय समिति घोषणा गरिने जनाइएको छ । प्रचार विभाग प्रमुखका जिम्मेवारी भने पूर्व पत्रकार निमकान्त पाण्डेले पाइसकेका छन् ।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी पार्टीसँग उनको एकता भएको छ । त्यस्तै आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समुह पनि उनीसँगै छ ।
पदाधिकारीमा रहने डिवी कार्की पर्व सांसद हुन् । वास्तविक नाम डोलबहादुर कार्की रहेका उनी भ्रष्टाचार मुद्दामा जेल चलान भएका व्यक्ति हुन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले २०७६ भदौ १९ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले उनलाई २०७६ असार १७ गते कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले दुई लाख पाँच हजार रुपैयाँ र कार्कीले एक लाख रुपैयाँ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महीना कैद र बिगोबमोजिम एक÷एक लाख रुपैैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसदको सभासद भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो।