पर्सा । पर्सामा अन्त्येष्टि गर्दै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजे पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरकी १४ वर्षीया बालिकाको आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राति करिब १० बजेतिर प्रहरीलाई एक बालिकाको शव जलाउँदै गरेको भन्ने खबर आएको थियो।
‘आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएको थियो,’ कार्कीले भने, ‘खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागे। महिलाहरू तीन जना पक्राउ परेका छन्।’
प्रहरीले सोधपुछ गरिरहेका मध्ये एक जना नाबालिग पनि छन्। उनीहरू एकै परिवारका हुन्। सुरूमा प्रहरीलाई आत्महत्या गरेको भन्ने खबर आए पनि त्यो पुष्टी नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।