आगामी निर्वाचनमा ईभीएम उपब्लध गराउन सरकारसँग आयोगको आग्रह

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउने उद्देश्यका साथ अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएसँगै निर्वाचन आयोगले आवश्यक निर्णयका लागि फाइल (प्रतिवेदन) मन्त्रिपरिषद्मा पठाएको हो ।

आयोगले नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट आयात गरेर भए पनि २०७९ साउन मसान्तसम्ममा प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन सरकारसँग ईभीएम माग गरिएको हो ।

अर्यालले ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पठाइएको पनि जानकारी गराए ।त्यस्तै ईभीएम उपलब्ध गराउन गृह मन्त्रालयमार्फत सरकारलाई पत्र पठाइएको उनले बताए ।