नेतृत्वमा बसेकाहरुले बुझ्न सकेनौँ भने फेरि अर्को पहलकदमी अगाडि आउने स्थिति छः सभामुख

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै संचालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

उनले भने, ‘‘लैंगिक असमानताका विरुद्धमा तपाईँले हाम्रै देशको स्थानीय तहलाई राम्रोसँग अध्ययन गर्नु भयो भने पनि देखिन्छ । मैले भन्नु पर्दैन । काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरूले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन् । यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालीन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन् । यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझ्न सकेनौँ भने फेरि अर्को पहलकदमी अगाडि आउने स्थिति छ । फेरि हाम्रो अगाडि संघीय संसदको चुनाव पनि हुँदैछ । त्यसैगरी प्रदेशसभाहरुको पनि चुनाव हुँदैछ । त्यस अर्थमा पनि तपाईहरुले यो गर्ने अभ्यास त्यो चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा मात्रै होइन, सही, असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि तपाईंहरुको यो अभ्यासले कहीँ न कहीँ एउटा महत्वपूर्ण योगदान गर्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’

सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण समेत गराए ।