कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैनः माधव नेपाल

दियो पोस्ट  

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पदको लोभ नभएको दाबी गरेका छन् । समाजवादी प्रेस संगठन, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न नजाने र पदको लोभ नभएको दाबी गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा केही बेफाइदा र कमीकमजोरी रहे पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

यद्यपि दलीय गठबन्धन राजनीतिक मात्र नभएर विश्वासको संगम भएकाले पदका लागि आफूले मरिहत्ते नगर्ने उनको भनाई थियो । ‘कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ,’ उनले भने । अहिले सरकारभन्दा पार्टी विस्तार, संगठन निर्माण र जनताको जनजिविका परिवर्तन आफ्ना लागि महत्त्वको विषय भएको उनले बताए ।

तर गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गरेका हुन् ।