ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहि दिन अघि ५ कक्षामा पढ्ने सानो बालकले एक शिक्षिकालाई मुख छोडेको भन्दै फलामको स्केलले पिटेका हुन् ।
उक्त पिटाईले बालकलाई चोट लागेको छ भने जीउको अघाडि र पछाडी भागमा स्केलको छाप नै छाप र स्केलको धारले काटिएको घाउ देखिन्छ । फोटोमा देखिएको भाग पछाडिको मात्र हो । बाल संवेदनालाई ख्याल गर्दै अघाडिको भागको फोटो देखाउन सकिएको छैन ।
उक्त पिटाईका कारण बालकको संरक्षकले महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएपनि पछि जाहेरी दरखास्त नदिएका कारण कारवाही अघाडि बढाउन नसकेको एक प्रहरीले जनाए। तर विचौलियाका कारण जाहेरी दरखास्त दिन डर लागेको परिवारले बताएको छ ।
वालकको चोट र घाउको चेक जाँच भने पाटन हस्पिटलमा भईसकेको छ । यसअघि विद्यालयका शिक्षिकाले पिटेको बताईएको थियो ।
तर प्रिन्सिपल आफैंले यसरी ११ वर्षको कमलो शरीरमा निर्घात कुटपिट गरेका छन् । विद्यार्थीलाई नकारात्मक व्यवहार गर्नु र चोट लाग्ने गरि पिट्नु बाल अधिकारको हनन र कुटपिटको समेत फौजदारी मुद्धा हो । फौजदारी मुद्धा मेलमिलाप गर्ने मुद्धा होईन । फौजदारी अपराध मेलमिलाप गर्ने र गराउने समेत अपराधको मतियार हुन सक्छन् ।
यसलाई संरक्षकहरु जाहेरी दिन तयार भएको तर विचौलियाका कारण परिवार पक्ष कमजोर भएको थाहा हुन आएको छ ।
बालककी हजुआमा पदमकुमारी खड्काकाले डराई धम्काएर कागजमा हस्ताक्षर गराएको बताइन् । प्रधानाध्यापकले कुटेपछि बालकलाई कतै नभन्न धम्काएका थिए ।
उनले भनिन्, ‘मेरो नातीलाई नराम्ररी कुटे, कुटेपछि पनि कसैलाई भनिस भने तलाई माछूृ भनेर धम्काए छन् । हामीलाई त पछि थाहा भयो । हामीले त स्कुलमा पढ्न पो पठाएका थियौं तर बिरामी हुने गरी केटेछन् प्रधानाध्यापकले । धम्काएरै कागज बनाए चौकीमा पनि । नेपालमा न्याय पाउन गाहे रहेछ । ’अब फेरि यो मुद्धा लिएर नआउनु आएमा पिडित भएपनि थुनिदिने भन्दै प्रहरीले आफूलाई धम्क्याएको बताइन् ।
पिडक प्रिन्सिपल चक्र महर्जन कांग्रेसका नेता हुन् । उनको मुद्धा मिलाउन कांग्रेका अन्य नेता र कार्यकर्ता प्रहरी चापागाउँ प्रहरी चौकीसम्म पुगेका थिए ।
परिवार पक्षले कारवाही हुनुपर्ने माग गरेपनि विचौलिया र आफन्तका कारण अघाडि बढ्न आँट नगरेको एक परिवार सदस्यले बताए ।
विचौलियाका कारण बालकलाई १० कक्षासम्म निःशुल्क पढाउने घरेलु कागज समेतमा प्रिन्सिपल महर्जनले हस्ताक्षर गरेको खुलेको छ । तर उक्त कागजमा हस्ताक्षर प्रहरी चौकीकै परिसरमा भएपनि प्रहरीलाई थाहा नभएको प्रहरी स्रोतले बतायो ।