उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता, एमाले छलफलमै

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यता एमालेले सकेसम्म आफू उम्मेदवारी नदिएर अरू साना दलले उम्मेदवारी दिए समर्थन गर्ने रणनीति लिएको छ । एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले उम्मेदवारी दिनेबारे एमाले अध्यक्ष ओली निवास बालकोटमा छलफल चलिरहेको बताए । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएको थियो । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ ।