मदिराले ‘झ्याप’ भएका धुनिवेशीका वडाध्यक्ष रेग्मीको ‘लफडा’ : ट्राफिकमाथि हातपात ! (भिडियो)

दियो पोस्ट  

धादिङ । धुनिवेशी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी मदिराले लठ्ठइएर प्रहरीसँग लफडा गरेका छन् । सरकारी मोटरसाइल सहित दिउसै मदिरा सेवन गरेर उनी नागढुंगा भेटिएका हुन् । उनलाई नियन्त्रण गर्न पुगेको प्रहरीलाई समेत उनले हातपात प्रयास गरेको भिडियो फेला परेको छ ।

वडा अध्यक्ष रेग्मी काठमाण्डौंबाट धादिङ्ग आउने क्रममा पिपलमोडमा चेकिङ्गमा परेको बताइन्छ । बा २ ब ९४२३ नम्बरको सरकारी मोटरसाइलमा सवार रेग्मीले ट्राफिक प्रहरीलाई ब्रेथलाइजर समेत लगाउन दिएका थिएनन् । प्रहरीले जबरजस्ती गरेपछि उनले विभिन्न शक्तिकेन्द्रलाई गुहार मागेको भिडियोमै देख्न सकिन्छ ।

रेग्मीले आफु धुनिवेशी नगरपालिका वडा नं. ८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै आफ्नो छुट्टै शक्ति भएको दाबी समेत भिडियोमा गरेका छन् । उनले डियुटीमा खटिएका ट्राफिक प्रहरी असाई शैलेन्द्र चौधरीलाई पड्काउने धम्की दिएको भिडियोमा देखिन्छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट धुनिवेशी नगरपालिका वडा नम्वर ८ का अध्यक्षमा निर्वाचित उनी यसअघि पनि वडाध्यक्ष थिए । उनले स्थानिय तहको निर्वाचनताका पनि दुई युवालाई आक्रमण गरेको घटना सार्वजनिक भएको थियो ।

ट्राफिक प्रहरी निरिक्षक टाप वहादुर क्षेत्रीका अनुसार उनलाई तत्काल नियन्त्रणमा लिएर कारबाही थालिएको छ । काठमाडौंबाट धुनबेसी फर्कदै गर्दा ट्राफिक चेकजाँचको क्रममा प्रहरीसँग भनाभन भएको वडाध्यक्षले दियो पोष्टलाई बताए । ट्राफिक प्रहरीले उनलाइ नागढुङगा ल्याएर थप चेकजाँच गर्दा मापासे पुष्टि नभएको र कुनै पनि किसिमको जरिवाना नतिरेको उनको भनाइ छ ।

‘काठमाडौंबाट धुनेबेसी फर्कने क्रममा ट्राफिक चेकजाँचको क्रममा प्रहरीसँग भनाभन भएको र मैले माफसे गरेको थिइन । त्यसपछि मलाई जागढुङगा ल्याएर थप अनुसन्धान गर्दा मापसे गरेको पुष्टि भएपछि मैले कुनै जरिवाना दिइन । ’
उक्त घटना २८ दिन पहिले भएको थियो ।

 

 

 

सम्बन्धित खबर