युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ

दियो पोस्ट  

मोरङ । युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले  दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो।

फारामबाट पक्राउ परेकामा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बस्ने जीवन गुरुङ, महोत्तरी अब्दुल गनी खान, चन्दन कुमार महतो, मोरङका रबिन्द्र गच्छेदार, मकवानपुरका दिपक बहादुर भ्लोन, महोत्तरीका उमेश प्रसाद यादव र सिन्धुलीका श्याम घिमिरे रहेका छन् ।

यस्तै होटलबाट पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–७ बस्ने शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, वडा नम्बर ४ बस्ने मुकेश कुमार साह, कटहरी गाउँपालिका वडा नम्बर २ बस्ने दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका वडा नम्बर १२ बस्ने फटिक कुमार कार्की, सोलुखुम्बुको माग्पे गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष गोपाल मगर, खोटाङको हलेसी नगरपालिका वडा नम्बर ९ बस्ने किरन राई रहेका छन् । युरोनियम जस्तो देखिने पदार्थ परीक्षणका लागि पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खबर