एसपीपीबारे रावलको आशंका– प्रधानमन्त्रीले अमेरिकालाई पत्र नपठाउनू भनी परराष्ट्रसँग साउती त गर्नुभएको छैन ?

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बैठकमा सांसद रावलले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नुको सट्टा परराष्ट्र मन्त्रालयले अध्ययन गर्ने भनेर दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन् ।

‘मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयन नगरी थप अध्ययन गर्ने भन्ने परराष्ट्र मन्त्रालयको भनाइ आपत्तिजनक छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरी त्यसको अध्ययन गरेर मात्र अमेरिकालाई पत्राचार गर्ने भन्ने परराष्ट्र मन्त्रालयको भनाइले सो मन्त्रालयलाई मन्त्रिपरिषद्को निर्णयबाट होइन अरु कसैको चाहनाअनुरूप चलाउन खोजिएको त छैन भन्ने आशंका उत्पन्न हुँदैन र ?’

नेपालले विभिन्न देशसँग गरेका सन्धि सम्झौता कार्यान्वयनमा समस्या आइरहेका बेला सैन्य सम्झौता गर्नु गलत भएको रावलको भनाइ थियो ।