अर्थमन्त्री प्रकरणः छानबिन समितिको म्याद सात दिन थप

दियो पोस्ट  

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानविन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थप गरेको हो ।

शर्माले आर्थिक वर्ष २०७९–०८०को बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानविन गर्न सो समिति गठन गरिएको हो ।

शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति बनेको थियो । समितिले काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । गत असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।

लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित संसदीय विषेश छानबिन समितिले मन्त्रालयका सम्बन्धित अधिकारी र व्यक्तिसँग जाँचबुुझ गरिरहेको छ । निवर्तमान अर्थमन्त्री शर्मालेअसार २२ मा पदबाट राजीनामा दिएका थिए ।