यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ, भन्न सकिदैनः प्रचण्ड

दलाल पूँजीपतिहरु आउने खतरा दिनप्रतिदिन बढ्दो छ !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको यही प्रणलीले देश सही बाटोमा नजाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिक्रदम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् ।

उनले भने, ‘दलाल पूँजीपतिहरु आउने खतरा दिनप्रतिदिन बढ्दो छ । यसलाई गहिरो गरी राजनीतिक दलसँग छलफल गर्नुपर्यो । हामीले ल्याएको निर्वाचन प्रणाली खतरामा पर्यो भनेर जनतालाई सडकमा ल्याउनुपर्यो ठूलोठूलो आन्दोलन गर्नुपर्यो नत्र त यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ । भन्न सकिदैन ।’

उनले चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने गरेको समेत खुलाए । उनले भने,‘सांसद हुने बेला करोडौं खर्च गरेर सांसद किन हुन्छन् त मान्छे सांसद नभई मन्त्री प्रधानमन्त्री हुन पाउँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्न पर्ने भयो । सांसद भइसकेपछि मन्त्री हुन त्यहाँ पनि अनेक खालका खेलहरु खेल्नुपर्यो मन्त्री भएपछि लगानी उठाउनुपर्यो त्यत्रो लगानी गरिसकेको छ । अनि त्यहाँ भ्रष्टचार संस्थागत हुन्छ । ’