एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागि नहुने भनेर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो । समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकोले सो कागजात प्राप्न गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताईन् ।

त्यस्तै, प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उनले बताईन् ।

सभापति खरेलले भनिन्, ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौंँ। केको लागि जानुभएको हो ? हामीलाई जानकारी छैन । त्यसले गर्दा आधिकारिक रुपमा आधिकारिक ठाउँबाट यो जानकारी हामीलाई चाहिन्छ । यसले गर्दा आजको बैठकले हामीले के निर्णय गर्नुपर्ने हुन्छ भन्ने लाग्छ, आधिकारिक ठाउँबाट केका लागि जानुभएको हो, हल्ला विभिन्न किसिमको आइराखेको छ ।’