सुकुम्बासीहरुको गुनासोः ‘दुख खिच्छौं भन्नेहरुले नै हामीलाई दुख दिन्छन् ’

- फूलमती  

बिहानको चार बज्यो । निरन्तर पानी परिरहेको छ । खोलाको किनारमा बसिरहेको सुकुम्बासी बस्तीलाई साउने झरीले कति दुख दियो होला ? तर, शहरलाई त्यति असर पुगेको जस्तो देखिदैन । त्यसैले त शहर मस्त निदाइरहेको छ ।

डेराबाट निस्कें । पाइलाहरु सुकुम्बासी बस्तीको खबर बुझ्न अगाडि बढे । थापाथलीको पुलसम्म पुग्दा त्यति असहज भएन तर थापाथलीको पुलबाट तल झरेपछि फोहोरको दुर्गन्धले सास फेर्न निकै कठिन भयो ।

लगातारको वर्षा, खोला किनारमा बस्ती र फोहोरको थुप्रोले घेरिएको बस्तीमा कसरी बसिरहेका होलान् ? के राज्यले यो दृश्य देखिरहेको छैन ? या त देखेर पनि मौन छ ? हुन् त जनताका समस्या चुनावको बेला मात्रै देखिन्छन्, सम्बोधन हुन्छन् र चुनावपछि बिर्सन्छन् । यस्ता थुप्रै प्रश्न र उत्तरहरुको महायुद्ध मनमा चलिरहेको थियो । तत्कालै एउटा दृश्यले तान्यो । म उभिएको ठाँउदेखि केहि पर अन्दाजी २ वर्षको बच्चा हुँदो हो, फोहोरमा केहि खेजिरहेको थियो । म त्यतै तिर लम्किएँ । म त्यहाँ पुग्दा बच्चाको बुवाले उसलाई लिएर गए । बोलाउन खोज्दै थिएँ तर उनी हतारमा थिए शायद पर पुगे ।

एकजना महिला घर भित्र पसिरहेको पानीलाई बाहिर फाल्न कुलो बनाँउदै थिइन् । म उनी भएको ठाँउसम्म पुगें । उनले इशारा गरेर आफ्नो छेवैमा बोलाइन् । मैले देखिरहेको बच्चालाई उनले पनि देखेकी रहेछिन् । उनले नजिकै आएर इशाराले केही भनिन् । उनी कान सुन्न सक्दैन थिइन् । र, बोल्न पनि गाह्रो हुँदो रहेछ । तर, बुझ्ने चाहना भएर पनि होला कुराकानी गर्न त्यति कठिन भएन । उनले इशाराले“त्यो बच्चा भोकै थियो । त्यसैले फोहोरमा खानेकुरा खोजिरहेको थियो ” भन्ने कुरा बताएकी थिइन् । मैले पनि हातको हाउभाउ र उनको नजिकै गएर सोधें,“उनका आमाबुवा कहाँ छन् ?” मैले तीन पटक सम्म प्रश्न दोहोराएँ । उनले बुझिन् । फोहोेरमा खेलिरहेको बच्चाको बुवा रक्सी खाएर बस्दा रहेछन् र आमा माइत गएकी रहिछन् ।

बच्चालाई खाना खुवाउने कोहि नभएकोले उ भोक मेट्न फोहोरको थुप्रोमा पुगेको रहेछ । बच्चाको त्यो दृश्यले तानिरहेको कारण मैलै ती महिलाको नाम छुट्ने बेलामा मात्रै सोधें । उनले सपना मुशहर(नाम परिवर्तन) बताइन् ।

सुकुम्बासीका समस्याहरु हल गर्न सरकारले केही गर्दैन ।

चुनाव आएको बेला एकपटक आँउछन ।

आशाहरु देखाउछन् अनि त्यसपछि मतलब गर्दैनन् ।

कहिलेकाँही हामीलाई नेताहरुले खेलौना सम्झे कि जस्तो पनि लाग्छ ।

सपना संगका कुराहरुलाई बिट मार्दैै म फेरि अगाडि बढे । धारामा तरकारी पखाल्दै मोबाइलमा गफ गरिरहेकी महिलासंग सुकुम्बासी बस्तीका समस्याहरु बारे कुराकानी गर्न खोज्दै थिएँ । उनले मेरो हातमा क्यामेरा देखेर नबोल्ने बताइन् । तस्बिर नलिने र भिडियो नबनाउने सर्तमा कुराकानी गर्ने बताएपछि हामीले कुराकानी गर्न थाल्यौं ।

मेरो नाम शिवानी (नाम परिवर्तन) हो । म यहाँ बस्न थालेको लामो समय भयो । यहाँ धेरै मान्छेहरु विभिन्न उदेश्यका साथ कुराकानी गर्न आउने गर्छन् । मलाई र मेरो परिवारलाई पत्रकार भन्ने कि युटुबर भन्ने उनीहरुले गर्ने कुराकानी र व्यवहार मनपर्दैन ।

सबैभन्दा धेरै गुनासो हामीलाई युटुबरहरुबाट निकै दुःख भएको छ । हामीलाई कहिले के व्यवस्था गरिदिन्छौं भन्छन्, कहिले हामी पानी नपस्ने बार लगाउन आर्थिक उठाइदिन्छौं भन्छन् । तर सबै हामी रोएको, यसरी बसेको खिच्छन्, जान्छन् ।

हामी थोरै भएपनि पढेका छौं, बुझछौं । तर, बोल्ने – कुराकानी गर्ने तरिका हुन्छ । सोध्न, बोल्न नै जान्दैनन् । हामीलाई थाहा छ, उनीहरु हाम्रा दुखहरु बारे लेख्न खोजेका छन् । नलेख्नुस भनेको होइन् तर अनावश्यक कुराहरु सोधेको मनपर्दैन ।

उनीहरु हाम्रा आँशु र दुख मात्रै बेच्न खोज्छन् । हाम्रा समस्याहरु बारे कसैले सोध्दैनन् । एकपटक एक युटुबरले हामीलाई फोहोरमा बस्नुस, फोटो खिच्नलाई भनेका थिए । त्यसपछि मेरो बच्चालाई पनि थोत्रा लुगा लगाइदिनुस् भने । त्यसैले मलाई बोल्न मनपर्दैन । हाम्रा दुखलाई खिच्नेहरुले नै हामीलाई दुख दिन्छन् । त्यसैकारण मलाई बोल्न राम्रो लाग्दैन । तर, तपाईंले उठाउन खोजेको र सोधेका कुराहरु मलाई राम्रो लाग्यो ।

हामीलाई यो असार साउनमा झरीले मात्रै दुख दिएको छैन । हाम्रो बस्तीलाई डम्पिङ साइट बनाइरहेका छन् । जसको कारण हामीलाई हरेक समय यहाँ बस्न निकै गाह्रो हुन्छ । हामी सुकुम्बासी बस्तीमा रहरले बसेका होइनौं । यदि हाम्रो जमिन हुन्थ्यो भने किन यहाँ बस्नुपर्थयो र ? हामीलाई जग्गा जमिन तत्कालै चाहियो भनेर पनि हामी कराएका छैनौं । सरकारले कम्तीमा पनि हाम्रो बस्तीमा फाल्ने फोहोरको व्यवस्थापन गरिदिए हुन्थ्यो । रातभरको झरीले हामीलाई निदाउन दिँदैन । एकातर्फ पानी छाप्रो भित्रै आँउछ, अर्कोतर्फ पानीसंगै फोहोर पनि पस्छ ।

सुकुम्बासीका समस्याहरु हल गर्न सरकारले केही गर्दैन । चुनाव आएको बेला एकपटक आँउछन । आशाहरु देखाउछन् अनि त्यसपछि मतलब गर्दैनन् । कहिलेकाँही हामीलाई नेताहरुले खेलौना सम्झे कि जस्तो पनि लाग्छ ।

हाम्रा पीडा र समस्याहरु माथि सबैले राजनीति गर्न खोज्छन् । नेता, युटुबर सबै उस्तै छन् । त्यसैले आजभोलि यो ठाँउका कोहि बोल्न मन पराउदैनन् । हाम्रा समस्याहरु पहिचान गरेर, हामीसंग छलफल गरेर हाम्रो व्यवस्थापन सरकारले गर्नुपर्ने हो । धेरै भनिराख्न अरु त्यस्तो कुराकानी केहि छैन । मुख्य कुरा तत्कालका लागि भने सरकारले हाम्रो वरिपरिको फोहोरको व्यवस्थापन गरिदिए हुन्थ्यो ।