काठमाडौं । १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले एलओडी क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ।
गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए।
फेसबुकबाट चिनजान भएको साथीसँग एलओडीमा घुम्न गएकी उनको कोइरालासँग भेट भएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट कम्पनीका दुई जना सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो । कम्पनी रजिस्ट्रार कार्यालयमा उनीहरूको नाममा छ ।
नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।
उमेरै नपुगेका बालबालिकालाई क्लबभित्र प्रवेश, के छ कानुनी व्यवस्था ?
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा १ (ख) ले बालिगहरुकालागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरन्जनस्थलमा प्रवेश वा प्रयोग गराउने कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेको मानिने छ । त्यस्तो हिंसा गरेबापत ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ ।