थाँक्रेस्थित कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको कुमारी माता रोडा ढुंगा उद्योगको अवैध खानी बन्द गर्न अन्तरिम आदेश जारी भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त ईजलाशले खानी बन्द गर्न अन्तरिम आदेश जारी गरेको हो ।

खानीबाट पीडित भएका रामकृष्ण पन्त लगायत दर्जनौँ पीडितहरुले गाउँपालिका लगायतले आफ्नो पीडा नसुनेपछि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । पीडितको तर्फबाट अधिवक्ता मोहन साशंकरले गरेको बहसका आधारमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

पीडितहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, खानी तथा भूगर्भ विभाग, कुमारीमाता रोडा ढुंगा उद्योग, थाँक्रे गाउँपालिका लगायतलाई विपक्षि बनाएर केहीदिन अघि रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्च अदालतका न्यायधीश पतद तिल प्रसाद श्रेष्ठको ईजलाशले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन आदेश दिएको थियो । खानीवालाको तर्फबाट थाँक्रे गाउँपालिकाले समेत वकालत गरेको थियो ।