हामी सरकारमा जाने रेसमा छैनौं, स्थायित्वका पक्षमा छौंः रवि लामिछाने

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै सभापति लामिछानले असन्तुष्टि पनि व्यक्त गरेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो एजेन्डामा अगाडि बढिरहेको बताएका छन् ।

गत वैशाख १० को उपनिर्वाचन यता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै लामिछानेले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको बताएका छन् । ‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं,’ उनले भने, ‘हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’

सत्तापक्षका दोस्रो र तेस्रो तहका नेताहरूले ‘सहयोग चाहिन्छ है’ भनिरहेको पनि लामिछानेले बताए । तर, ती प्रस्तावलाई आफूले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।

सिफारिस