काठमाडौँ । सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङले एक व्यक्तिलाई सडकमा पु¥याएका छन् । धादिङको त्रिपुरासुन्दरी स्थायी घर भएका रुपेन्द्र बहादुर बानियाँलाई गुरुङले श्रङ्खलाबद्ध रुपमा अन्याय गर्दै सडकमै पुर्याएको खुलेको हो ।
टेलिभिजनको आडमा अनेक धन्दा गर्दै आएका गुरुङले काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित गोङ्गबु क्षेत्रमा करिब ४४ आना जमिन किनेका थिए । सोही जग्गामा टहरा बनाएर भाडामा लगाउने जिम्मा ग्रिल व्यावसायी समेत रहेका बानियाँलाई दिए । २०७१ श्रावण ३० मा उनीहरुबीच लिखित सम्झौता नै भएको छ । जसमा जग्गा धनीको तर्फबाट गुरुङको स्वामित्व रहेको कम्पनि गल्फ रियल स्टेट प्रा.लीका तर्फबाट कन्याकुमारी गुरुङ र दोस्रो पक्ष अर्थात टहरा बनाउने भाडामा लगाउने तर्फबाट शिवज्योति ईलेक्ट्रोनिक्स एण्ड इन्जिनियरिङ प्रा.लीका तर्फबाट प्रबन्धक रुपेन्द्र बहादुर बानियाँले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा कन्याकुमारीको नाम राखेपनि धन्दा भने निर्मल गुरुङले नै सम्हालेका थिए । स्रोतका अनुसार गोरखा फाइनान्स घोटालापछि गुरुङको नाममा कारोबार गर्न नमिल्ने भएपछि उनले तेस्रो व्यक्तिको नाममा गल्फ रियल स्टेट राखेका थिए ।
टहरा निर्माणको सम्झौता भएपछि बानियाँले बसिरहेको करोडौँको घर नै बेचेर व्यावसायमा हात हाले । सटर टहरा र जमिनको भाडा बापत बानियाँले मासिक २ लाख रुपैयाँ गुरुङलाई बुझाउनु पर्दथ्यो । बानियाँले एकैसाथ एक सयवटा सटरसहितको टहरा बनाए । ‘मासिक २ लाख रुपैयाँ भाडा निर्मल गुरुङकी पत्निलाई पानीपोखरीस्थित घरमै गएर भाडा बुझाउने गरेको थिएँ । मैले टहरा बनाउँदै थिए । २०७२ सालमा भूकम्प आयो । भूकम्प आएपछि भाडामा लगाउन पनि कठिन भयो,’ बानियाँले भने,‘भूकम्प आएपछि व्यावसाय चौपट पर्न थाल्यो । तरपनि भाडा भने बुझाइरहेको थिएँ । भाडा मैले उनकी श्रीमती धनलक्ष्मी गुरुङलाई बुझाउँदै आएको थिएँ ।’
गुरुङले आफूलाई १०÷१५ वर्षसम्म आफूहरुले घर नबनाउने भन्दै सटर बनाएर काम गर्न विश्वास दिलाएको बनियाको दाबी छ । ‘मैले १ सय वटा सटर बनाएँ । २ तलाको टहरा थियो । ‘हामी १०÷१५ वर्ष घर बनाउँदैनौँ । तपाईंले आफ्नो सुरले काम गर्नु भनेर निर्मल गुरुङले भन्नु भयो । ६ वर्षको एग्रिमेन्ट थियो,’ उनी भन्छन्,‘मैले तयार पारेँ । ४४ आना जग्गा रहेछ । ७२ सालमा भूकम्प गयो । म त्यसै फसेँ । बनाउँदा बनाउँदै एक वर्षको भाडा त्यत्किै गयो ।’

सम्झौतामा २ लाख रुपैयाँ उल्लेख गरेर व्यावहारमा भने गुरुङ परिवारले मासिक साढे ४ लाखको रुपैयाँ असुल्दै आएको उनको भनाई छ । भाडा सम्झौतामा समेत उनले मनपरी गरेको बानियाँको आरोप छ ।
‘भाडासम्झौतामा २/२ वर्षमा १० प्रतिशत भन्दा पनि बीचमा भाडा मनपरी बढाए । ४ वर्ष हुँदा त एकै पटक ६ लाख ७५ हजार भाडा पुगेको थियो । अलि अलि व्यापारी बसेका थिए । तर भाडा तिर्ने अवस्था उनीहरुको थिएन । मैले काम एक वर्षमै सकाएको थिएँ । यो टहरा पुरै किन्छु भनेर एउटा मान्छे आयो तर उसले किन्न सकेनँ,’ उनको दाबी छ,‘मलाई म्यानेजमेन्ट हेर्न दिनुस् भन्ने उसको प्रस्ताव गर्यो । मैले हुन्छ भनेर जग्गाधनीकै अगाडी जिम्मा लगाइदिएँ । किन भने मैले भाडा भनेर उठाउन सक्ने अवस्था थिएन । उसैलाई उठाउने जिम्मा दिएँ । उनी नुरदोर्जे शेर्पा थिए । यसैबीच ६ वर्षको सम्झौता सकिएपछि सम्झौता रिन्यु गर्ने बेला भयो । तर, उहाँहरुले एक जना लक्ष्मण विश्वकर्मालाई मासिक १२ लाख भाडा सम्झौता गरेर दिनु भएछ । मैले बनाएको टहरा बारे मलाई एक वचन पनि सोध्नु भएन । लक्ष्मणले मैले ८ करोडमा किनेको हो । तिमीहरु व्यापारीले खाली गर्देउ भनेर भनेछ । यता व्यापारीलाई मैले ५ वर्षको सम्झौता गरेको थिएँ । उनीहरुलाई एकै साथ खाली गर भनेपछि उनीहरु त्यस विरुद्ध महानगरमा उजुरी हाल्न गए । अदालत गए । त्यसपछि लक्ष्मण भन्नेलेपनि हार खाएरै छाडिदियो होला ।’

गुरुङकै योजनामा अर्का व्यक्ति पनि भाडामा लगाउन आएका थिए । तर, ती व्यक्तिले पनि केही गर्न सकेनन् । त्यसपछि शुरु भयो मुद्दा मामिला ।
जग्गा धनी गुरुङ वडा कार्यालयमा उजुर गर्न पुगे । सटरखाली गर्न गर्ने सुचना वडाले गोरखापत्रमा निकाल्यो । त्यस विरुद्ध व्यापारीहरु अदालत गए । ‘त्यसबीचमा जग्गा धनी गुरुङले यही असार ६ गते राती गुण्डा केटाहरु लगाएर राती नै डोजर लगाइयो । छेउपटिको भाग पूर्ण क्षेति पुर्याइयो,’ बानियाँ भन्छन्,‘ थाहा पाउने वित्तिकै हल्ला खल्ला भयो र प्रहरी आयो । प्रहरी आएपछि डोजर र केटाहरु भागे । त्यहाँका प्रहरी प्रमुख डिएसपी अंगुर जिसीले राती नै त्यहाँ प्रहरी परिचालन गरेछन् । निर्मल गुरुङको घरमा पनि प्रहरी परिचालन भएछ । भोलीपल्ट विहानै निर्मल गुरुङ पक्राउ परे ।’
गुरुङ पक्राउ परेपछि सबै व्यापारीले जाहेरी दिएको उनको दाबी छ । व्यापारीहरुले गुरुङको परिवार सहित गुण्डाहरुको नाम समेत राखेर जाहेरी दिएको प्रहरीको समेत दाबी छ । महानगरिय प्रहरी बृत्त महाराजगन्जमा परेको जाहेरीको आधारमा गुरुङ थुनामा थिए । गुण्डागर्दी गरेर राती व्यापारीको सामान लुटपाट गरेको घटनामा गुरुङ लामो समय थुनामा पर्ने र जेल जाने संभावना देखेपछि प्रहरी कार्यालयमै उनी मिल्न तयार भए ।
दियोपोस्टलाई प्राप्त सम्झौता अनुसार उनले व्यापारीलाई क्षतिपूर्ति बापत एक करोड ९० लाख रुपैयाँ तिर्ने सहमति गरेका छन् ।
‘वडाध्यक्षकै रोहबरमा अदालतको मुद्दा पनि फिर्ता लिने र वडाको रोहबरमा त्यो ठाउँ पनि खाली गर्ने सम्झौता भयो । त्यसपछि उनी रिहा भए । वडाध्यक्ष र डिएसपीको रोहबरमा कागज गराइयो,’ बानियाँ भन्छन्,‘त्यहाँका व्यापरीहरु नै धुर्विकरण हुन थाले । त्यहाँ केही ठालुहरुले ७ लाखका दरले भाग लगाए । सोझालाई मुद्दा लाग्छ भन्दै भगाइयो । कोहीलाई २÷३ लाख गरेर फिर्ता गरियो । तर, अहिले फेरी असारमा व्यापारीहरु विरुद्ध नै गुरुङले करकाप मुद्दा हालेका छन् । वडा कार्यालय, प्रहरीलाई समेत प्रतिवादी बनाएर हालिएको छ । फेरी व्यापारीलाई बोलाएर ५÷७ लाख बाढ्न थालियो । यसो गरेर अहिले जम्मा १५ जना व्यापारी मात्रै बाँकी छ । उनीहरुलाई पनि थर्काउने काम भइरहेको छ ।’
गुरुङले गुण्डागर्दी लगाएर आफ्नो सटर तथा भौतिक संरचना मात्रै ५० लाख रुपैयाँ बराबरको लुटपाट भएको उनको दाबी छ ।
‘मेरो क्षति भएको ५० लाखको क्षतिपूर्ति र बाँकी सामान उठाएर लान पाउँ भन्दै मुद्दा हालेँ । तर, अदालतले हालसम्म कारण देखाउ आदेश मात्रै दिएको छ । यता मुद्दा चलिरहने भो यता मेरो टहरा उनीहरुले उठाएर लाने भो,’ उनको दुखेसो छ ।
निर्मल गुरुङ भन्छन्,‘यो समस्या खडा भएको बानियाँको कारण हो’
यता सगरमाथा टेलिभिजनका मालिक तथा वैदेशिक रोजगार व्यावसायी समेत रहेका निर्मल गुरुङ भने आफूहरुले जग्गा भाडामा लगाएबापत भाडा समेत नपाएको बताउँछन् । शुरुमा उनले आनाकानी गरेँ ।
‘त्यही चिजहरु कसरी भयो भन्ने मलाई थाहा छैन । मलाई अलि सञ्चो पनि छैन,’ उनले भने ।
आफूले भाडा समेत नपाएको उनको दाबी छ ।
‘हामीले भाडा समेत पाएका छैनौँ । उसले अर्को मान्छे ल्यायो । अहिले जुन समस्या खडा भएको छ । त्यसको कारण रुपेन्द्र बानियाँ नै हो,’ उनले भने,‘अहिले म विरामी भएर बसेको छु धेरै कुरा म भन्न सक्दिनँ ।’
गत असार ६ गते प्रहरी कार्यालयमा भएको समझदारीबारे प्रश्न गर्दा उनले भने,‘त्यहाँ के समझदारी छ त्यो अनुसार भएको छ ।’
त्यो दिन राती गुण्डा लगाएर प्रहरी चौकीमा थुनिएको घटनाबारे प्रश्न गर्दा उनले आफूलाई थाहा नै नभएको भन्दै नाटकीय जवाफ दिए ।