छोरीको उत्तरपुस्तिका सच्याउने लोक सेवाका अधिकृत भ्रष्टाचारी ठहर, ६ महिना कैद

दियो पोस्ट  

काठमाडौं । छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने तथा आफैं उत्तर लेख्ने लोक सेवा आयोगका अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले मंगलबार लोक सेवा आयोगका अधिकृत मिनबहादुर शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफैं लोक सेवा आयोगको कार्यालयमा कार्यरत रहेका अधिकृतले आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै उनलाई दोषी ठहर गरेको हो। निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ।

नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो।

लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए।

सिफारिस