काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत विवादमा तानिएका छन् । केन्द्रीय कार्यालय जगन्नाथ देवल सुन्धारास्थित महिला कैदीको चौकीदार नियुक्तीमा बस्नेत विवादमा तानिएका हुन् ।
केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेकी अनिला श्रेष्ठले कैदी बन्दीमाथि व्यापक दमन र कुटपीट गरेको घटनामा गृहमन्त्रालयले छानबीन गरेको थियो । उजुरी तथा छानबीन नटुंगिदै उनलाई चौकीदार बनाउन प्रमुख जिल्ला अधिकारी बस्नेतले सिफारिस गरेको उनैले स्विकार गरेका छन् । आश्चर्य त के भने यसअघि गृहमन्त्रालयमा रहँदा बस्नेतले अनिला श्रेष्ठमाथि छानबीन गरेका थिए ।
‘म गृहमन्त्रालयमा रहँदा पनि छानबीन चलेको थियो । त्यहाँ एउटा समुहले प्रोभोक गरेको जस्तो पनि देखिएको थियो,’ उनले भने,‘अहिले महिला कारागारबाट सबैले अनिलाकै नाम लेखेर पठाएको हुनाले सिफारिस गरेर कारागार विभागमा पठाएको हुँ । विभागले निर्णय गर्छ । हामीले केह ीगर्ने होइन । सबै निर्णय जेलर कार्यालयबाटै भएर आएको हो ।’
सुन्धाराको कारागार प्रमुखमा ललित बस्नेत छन् । उनीमाथि कारागार भित्रै लागु औषध मदिरा समेत प्रवेश गराएको आरोप लाग्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारीले अनिलामाथि छानबीन टुंगिसकेको प्रमाण आफूसँग नभएको बताए । ‘यो त मलाई थाहा छैन । छानबीन टुंगिएको प्रतिवेदन जेलर कार्यालयमै होला,’ उनले भने,‘केही प्रमाण भए अहिले नै ल्याउनु ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतलाई दियोपोस्टले ‘तपाईं आफै छानबीनमा संलग्न हुने अनि छानबीन नटुंगिदै आरोपीलाई नै चौकीदार सिफारिस गर्दा स्वार्थको द्वन्द देखिँदैन ?’ भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘परिस्थितिले मलाई त्यस्तो बनाएको हो । तर, अहिले नै पुष्टि हुने प्रमाण ल्याउनु भयो भने जहाँ पनि जान सक्छ ।’
चौकीदारमा सिफारिस भएकी श्रेष्ठले कारागार भित्रै विभिन्न व्यक्तिमाथि कुटपीट गरेको आरोप छ । गत असार १९ गते पनि महिला कैदी धनमाया पुनको हात भाँचिने गरि कुटपीट गरेको थियो । सो पीडित समुहले विभिन्न निकायमा उजुरी दिएका छन् । तर, यसअघिको छानबीन समेत नटुंगिई अर्को उजुरी पर्दा समेत जेल बस्नेतले आर्थिक प्रभावमा परेर श्रेष्ठलाई चौकीदार सिफारिस गरेको आरोप छ । अनिलाले जेल भित्र आफू श्रावण एक गतेदेखि नै चौकीदार हुन लागेको बताउने गरेकी एक कैदीले बताए । ती कैदीका अनुसार जेलभित्र उनले आफूले जेलर बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र कारागार विभागका प्रमुख चक्रपाणी पाण्डेसम्मलाई मोटो रकम बुझाएको बताउने गरेको छु । ‘म साउन १ गतेदेखि चौकीदारको रुपमा खादा लगाउने छु । मैले जेलर, सिडिओ र कारागार विभागसम्म कुरो मिलाईसकेको छु,’ जेल भित्र अनिलाको भनाई उदृत गर्दै ती कैदीले भने,‘यहाँ पैसा भए सबै कुरा किन्न पाइन्छ । प्रशासन किन्न त सजिलो छ ।’
यता कारागार विभागका प्रमुख चक्रपाणी पाण्डेलाई सम्पर्क गर्दा उनको मोबाइल निर्देशक कमल प्रसाद पाण्डेले उठाए । चक्रपाणी कार्यालयमै रहेपनि फोन भने आफूले उठाएको उनको दाबी थियो । अनिलाबारेको उजुरीमा आफूहरुले आज बुझ्ने उनको दाबी थियो । स्रोतका अनुसार अनिलाले कारागार भित्र आफूले चौकीदार बनाउन विभागका निर्देशक पाण्डेको हातमा पुग्ने गरि मोटो रकम बुझाउने गरेको बताएको ती कैदीको दाबी छ । यता पाण्डे भने सिफारिस भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । ‘तपाईंले कहाँबाट थाहा पाउनु भयो कुनी हाम्रोमा सिफारिस भएर आएको छैन,’ उनले भने ।
यता काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने सिफारिस गरेर पठाइसकेको बताएका छन् । कारागारको चौकीदार नियुक्तीमा कर्मचारीको दोहोरो कुरा आउनु र लुकाउनुले थप सन्देह पैदा गरेको छ । विभागका सुचना अधिकारी रामचन्द्र सिवाकोटीले चौकीदार नियुक्तीको विषयमा आफूलाई केही थाहा नभएको ती सबै काम हेर्ने र जान्ने व्यक्ति कमल पाण्डे नै भएको बताए ।
गत असार २० गतेको गृहमन्त्रालयको निर्णय अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त भएका बस्नेत दुई हप्ता नपुग्दै विवादमा आएका छन् ।