चन्द्रागिरीमा अदालतको आदेश विपरित घर ढलान : मेयर समेत कारबाहीमा पर्न सक्ने खतरा

दियो पोस्ट  

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक व्यक्तिले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो । उच्च अदालत पाटन निवेदक शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायधीश हरि प्रसाद पौडेलको ईजलाशले गत जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।
शाहीले चन्द्रागिररी नगरपालिका सहित अनुप मानन्धर, दिपक मानन्धर, अनिल मानन्धरलाई विपक्ष बनाएर मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले निवेदक शाहीको कित्तामा नक्सापास, तथा घर निर्माण कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तर, नगरपािलकाले आर्थिक चलखेलको आधारमा घर निर्माणको नक्सा पास गरिदिएको र सोही आधारमा घर ढलान भएको स्रोतले जनाएको छ । निवेदक शाहीले अदालतको आदेश पालनाका लागि जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई समेत निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रशासनले प्रहरीलाई समेत पत्राचार गरेको थियो । तर, पत्राचार भएपनि उनको कित्तामा घर ढलान भएको पीडितको दाबी छ ।
अदालतको आदेश विपरित नक्सा पास र घर ढलान गरिएको घटनामा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी समेत कारबाहीमा पर्ने देखिएको छ । अदालतको अवहेलना मुद्दा परे गिरीको पद समेत धरापमा पर्नेछ ।

सिफारिस