
काठमाडौं । एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा मुछिएका आईएमएस समुहका अध्यक्ष दीपक मलहोत्राले तस्करीको सुन व्यवस्थापन गर्न परिवार भित्रकै सदस्यको नाममा एक कम्पनी समेत खडा गरेको खुलाशा भएको छ । नेपाल भित्रिएका तस्करीका सुनलाई सीतापाइला स्थित एक स्थानमा तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा लिएर त्यहाँ मार्फत नै सुनको कारोबार हुने गरेको खुलेको हो ।
दियोपोस्टलाई उच्च स्रोतले दिएको जानकारी अनुसार मलहोत्राले उक्त कम्पनीमा बुहारी तथा पूर्व मिस नेपाल समेत रहेकी जेनिशा मोक्तानलाई राखेका छन् । मलहोत्राका अति निकट व्यक्ति हरि पोखरेल नामक व्यक्तिले यो धन्दाको सेटिङ गर्ने गरेको स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ । पोखरेलकै सेटिङमा विमानस्थलस्थित भंसार विभागको प्रमुख समेत परिवर्तन हुने गरेको स्रोतको दाबी छ । उक्त कम्पनीमा पोखरेलले पनि गिफ्ट सेयर पाएका छन् ।
दुबई, हङकङ लगायतबाट सवारी साधनको पार्टपुर्जा बनेर आउने सुनमा जडित भएको केमिकलका कारण विमानस्थलस्थित भंसार विभागको एक्सरे मेसिनले समेत पत्ता लगाउन नसक्ने गरि यो समुहले तस्करी गर्दै आएको आरोप छ । त्यस्तो केमिकलसहितको सुनलाई नेपाल आएपछि केमिकल हटाएर सुनमात्रै बनाउने धन्दामा उनको सो कम्पनी लागेको स्रोतको भनाई छ ।
यो सुचना प्राप्त भएपछि मलहोत्रालाई यसअघि नै पटक पटक सम्पर्कको कोशिस गर्दा उनी सम्पर्कमै आउन चाहेनन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेका मलहोत्राले ओली प्रधानमन्त्री भएकै बेला झापाको गिरिबन्दु टि स्टेटको नाममा रहेको ५ सय ४३ विगाह जग्गा प्लटिङ गराएर बेच्न भूमि सम्बन्धी ऐन नै संशोधन गराएका थिए । माओवादीबाट निर्वाचित सांसद ईन्द्र बहादुर आङ्बोले प्रतिक्रिया दिने क्रममा ओलीलाई १ अर्ब रुपैयाँभन्दा बढी घुस बुझाएको आरोप लगाएका थिए । यो धन्दामा मलहोत्राको नै मुख्य भूमिका रहेको थियो ।
उनै मलहोत्राले आफू मोबाइल घरजग्गा लगायतको व्यवासायमा संलग्न रहेको र आफू सुनको काम छाडिसकेको बताउने गरेका छन् । तर, प्रत्यक्ष सुनको काममा नदेखिएपनि उनले आफ्नो निकटस्थहरुलाई यो धन्दामा लगाएर त्यहाँबाट फाइदा लिने गरेका छन् । उनकै व्यावसायीक साझेदार विमल पोद्दार पटक पटक सुन तस्करीमा पक्राउ पर्दै छुट्दै आएका छन् । ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा पोद्दार पनि पक्राउ परेका थिए । त्यतिबेला पनि मलहोत्राको नाम निकै विवादमा आएको थियो । ओली सरकारसँग निकट सम्बन्ध भएकै मलहोत्राले प्रहरी समक्ष बयान दिन समेत जानु परेको थिएन ।
राजश्व अनुसन्धान विभागले हिजो बुधबार एक अर्बभन्दा बढी मुल्य पर्ने अवैध सुन आफ्नै अपरेशनमा बरामद गर्न सफल भएको हो ।
मलहोत्राको खण्डन : मेरो परिवार संलग्न छैन
यता व्यावसायी दीपक मलहोत्राले आफ्नो परिवार अवैध सुनको कारोबारमा संलग्न नरहेको भन्दै खण्डन गरेका छन् । उनले बुधबार प्रकाशित समाचारको खण्डनको क्रममा यस्तो दाबी गरेका हुन् । ‘सुन आयात गर्ने कार्यमा मेरो संलग्नता रहेको भन्ने सन्देश दिन खोजिएको छ। उक्त बमोजिमको धातु आयात गर्न म सम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन। साथै उक्त वस्तु आयातमा म, मेरो परिवार, म । सम्वद्ध व्यापारिक प्रतिष्ठान वा सोसँग सम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाममा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं म सम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता छैन,’ मलहोत्राले भनेका छन् ।