छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–५ क्याम्पस चोकमा मधेस प्रदेश ०३–०२८ प ४३२६ नम्बरको मोटरसाइकल र ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल एकआपसको ठक्करबाट सोमबार दिउँसो दुर्घटना हुँदा ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवापर्सौनि गाउँपालिका–१ घर भएका ३५ वर्षीय सुनिल कुमार पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मौलापुरस्थित स्थानीय मेडिकल हुँदै बयोधा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको राज लक्ष्मी अस्पताल कलैयामा उपचार भइरहेको छ ।

यसैगरी पाँचथरको फिदिम नगरपालिका–२ ओदिनस्थित सडकमा प्र.१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका–८ मेथिबारी घर भएका २४ वर्षीय युबराज अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै पर्साको बहुदरमाई नगरपालिका–४ डकैला चोकमा ना.२६ प ४००२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ बर्वाटोला बस्ने ७० वर्षीय जोगी पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।