काठमाडौं । पशुपति क्षेत्रमा कोटिहोमको नाममा सर्वसाधरणसँग करोडौँ असुली गर्दै आएका ठगी अभियुक्त विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यको समुहले धम्की दिएको छ । ठगी आरोपमा पटक पटक जेल बस्दै छुट्दै आएका विष्णु भण्डारी भनिने परिवर्तित पछिल्लो नाम बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको समुहले दियोपोस्टको कार्यालयमै आएर समाचार नलेख्न धम्की दिएको हो ।
यही श्रावण १ गतेदेखि ३२ गतेसम्म राजधानीको पशुपति क्षेत्रमा कोटिहोम संचालन गरिएको छ । कोटिहोममा मुख्य संकलनकर्ताको रुपमा देखिएका व्यक्ति धार्मिक कार्यक्रमको आवरणमा ठगी गर्दै आएका विष्णु प्रपन्नाचार्यबारे दियोपोस्टमा निरन्तर समाचार प्रकाशन भइरहेको छ । समाचार प्रकाशन भएपछि एक व्यक्तिले टेलिफोन गरि कार्यालयमै आएर जेपनि गर्न सक्ने धम्की दिएका थिए । त्यसको केहीदिन पछि एक युवतीसहित चार जनाको समुह दियोपोस्टको कार्यालयमा आएका थिए ।
ती युवतीले समाचार रोक्नु पर्ने सर्त राखेकी थिइन् । त्यतिमात्रै होइन कोटिहोमबारे सकारात्मक समाचार लेखिदिनु पर्ने दबाव समेत दिएकी थिइन् । उनी दियोपोस्टको कार्यालयमा विष्णु प्रपन्नाचार्यले यसअघि गरेको अपराधको समेत बचाउमा उत्रिएकी थिइन् । कार्यालयको रिसेप्सनमा भने ३ जना शंकाष्पद व्यक्ति देखिएका थिए । उनीहरुको साथमा हतियार जस्तो देखिने वस्तु समेत थियो । हुलदंगा गर्ने उद्देश्यले कार्यालयमा आएका उनीहरुले पटक पटक प्रधानसम्पादक सुदीप विश्वकर्माको कार्याकक्षमा प्रवेश गर्ने कोशिस समेत गरेका थिए ।
कार्यालयको रिसेप्सनमा रहेका ती शंकाष्पद व्यक्तिहरुले कार्यालय कति बेलासम्म खुल्छ ? भन्दै सुचना माग्ने काम समेत गरेका थिए ।
पशुपति क्षेत्रमा कोटिहोम संचालन गर्दै आएका भण्डारीले सर्वसाधरणलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै एक रकोड २७ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले भण्डारीलाई २ वर्ष कैद सजाय तोकेको थियो । अदालतको आदेश अनुसार उनी जेल सजाय समेत भोगेर आएका व्यक्ति हुन् । उनले देशका विभिन्न भागमा महायज्ञ कोटिहोम लगायत कार्यक्रम गर्दै ठगी गरेका थिए । प्रहरीले उनलाई ठगी अभियोगमा ४ पटकसम्म थुनामा राखेको थियो । उनै भण्डारीलाई पशुपति विकास कोष र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा ठगीको अनुमति दिएको देखिन्छ ।
यस प्रकरणका सम्बन्धित समाचार र भिडियाे रिपाेर्ट हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्
ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !