काठमाडौं । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । त्यसमाथि स्थानीय जनप्रतिनिधिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । नागरिककाका लागि अभिभावकत्व भूमिका खेल्ने यिनै जनताका प्रतिनिधिको लापरबाही र जिद्दीका कारण यतिबेला १२ वर्षीय बालक अस्पताको बेडमा मृत्युसँग लडिरहेका छन् ।
बाजुराको बुढिनन्दा नगरपालिकाका उपमेयरलगायतका जनप्रतिनिधको अहमताका कारण अहिले टेकेन्द्र अस्पतालमा मृत्युसँग जुधिरहेका हुन् । नगरपालिकाका उपमेयर रामबहादुर बोहरा र वडा नम्बर ३ का वडाध्यक्ष जंगविर रोकायको लापरबाहीका कारण स्थानीय बालक टेकेन्द्र ल्वारले बायाँ हात गुमाउन पुगेका छन् भने उनको स्वास्थ्य अवस्था पनि एकदमै गम्भिर बनेको छ । यतिबेला कीर्तिपुरस्थित बर्न अस्पतालको ४०३ नम्बर बेडमा मृत्युसँग लड्दै छन् ।
गत साउन २ गते जिल्लाको बुढिनन्दा नगरपालिका–३ धुलिखेल्नास्थित गाईवस्तु चराउन जाँदै गर्दा दिनको करिब २ बजे टेकेन्द्र ल्वारलाई बिजुलीको तारले एक्कासी तान्छ । संधै रातिमा मात्र विद्युत छोड्दै आएका ति तारमा दिनमै विद्युत बगिरहेकोबारे स्थानीय कोही पनि जानकार थिएनन् । हाँस्दै खेल्दै गोठालो हिडेका टेकेन्द्र पनि त्यो कुराबाट अन्जान थिए । जम्मा ३ फिटको उचाईमा राखिएका तारमा टेकेन्द्र एक्कासी छट्पटाउन थाल्छन् । अरुबेला संधै स्थानीयको आवश्यकता अनुसार राति मात्रै विद्युत छोडिदै आएकोमा त्यो दिन भने उपमेयर रामबहादुर बोहराले त्यहीको विद्युत प्राविधिक टोलीलाई पटक पटक फोन गरेर विद्युत छोड्न दबाब दिएका थिए ।
अव्यवस्थित अवस्थामा टाँगिएका विद्युतिय तारमा दिउँसो विद्युत हुँदैन भन्ने स्थानीयलाई राम्ररी थाहा थियो । तर त्यसदिन नगरपालिकाको निर्देशनमा बिना कुनै जानकारी विद्युत छोडिएको स्थानीयले बताए । करेन्ट लागेर गम्भिर घाइते भएका टेकेन्द्रलाई सुरुमा त्यहीको स्वास्थ्य चौकीमा राखिएको थियो । केही समय त्यहाँ राखेपछि उपचारका लागि नेपालगन्ज पुर्याइएको थियो ।
टेकेन्द्रका बुबा कर्णविर ल्वार भन्छन् “नेपालगन्जमा थप उपचार नभएपछि मैले ३० हजारमा गाडी रिर्जभ गरेर घाईते छोरोलाई काठमाडौं ल्याए । उपचार गर्ने मेरो क्षमता हुन पैसा छैन । म के गरु । राम्रो अवस्थामा देखेको छोरालाई अहिले आखाँ जुधाएर हेर्न पनि म सकिरा छैन । ”
कर्णविर अचेल छोराको उपचारका लागि ठाउँ ठाउँमा विभिन्न व्यक्तिलाई गुहार माग्दै हिडिरहेका छन । नगरपालिकाको सानो गल्तिले आफ्नो छोराको यो हालत भएको बाबु कर्णविर ल्वारको आरोप छ । उनका अनुसार अहिले मेयर उपमेयर पनि काठमाडौंमै छन् । तर उनीहरुकै कारण यस्तो अवस्थामा पुगेका छोराको उपचारमा भने केही सहयोग तथा पहल नगरिदिएको उनको गुनासो छ ।
“मेयरले खर्च भनेर ५ हजार रुपैयाँ दिन खोज्दै थिए तर मैले लिन मानिन । पछि मैले नमान्दा नमान्दै जबरजस्ती हातमै दिएर गए । त्यो पैसाले के हुन्छ र अहिले अपरेशनमाथि अपरेशन गर्नु पर्ने भएको छ । छोरो बाच्यो भने पनि अपाङग हुने भो । अहिले मेयर उपमेयर काठमाडौंमै छन् ।” कर्णविरले भने,“ उपमेयर त मेरै गाउँको हो । घर पनि नजिकै छ । तर के भो औषधीपचार, खाना व्यवस्था के छ कसो छ दाई भनेर एकपल्ट पनि सोधेन ।”
उनकाअनुसार रातीको समयमा मात्र बिजुली छोड्ने गरेको विद्युतको तार जमिन देखि जम्मा ३ फिटको उचाईमा रहेको थियो ।
“यो कुरा थाहा पाउँदा पाउँदै पनि बिना सुचना किन विद्युत छोड्न भनियो ?” कर्णवीर प्रश्न गर्छन, “त्यो १२ वर्षको केटोको टाउकोमा छुने तार कति अग्लो हुन्छ ? अहिले मेरो छोराको एउटा हात काटिएको छ । अब टाउकाको अपरेशन गरेपछि फेरि ढाडको पनि अपरेशन गर्ने भन्दै छन् डाक्टर । उपमेयरहरुको जिद्दीले बिना कुनै सूचना त्यसरी बत्ती दिएछन् । अरुबेला राती आउने बत्ति त्यो दिन दिउँसै दिए ।”
टेकेन्द्रका बुबा कर्णविर ल्वार
यता सिमगाड जलविद्युत व्यवस्थापन समितिका अध्यक्षले भने नगरपालिका र विद्युत समितिसँग कुनै समन्वय नभएको बताएका छन् । उनले भने,“करिब २ महिनाअघि चाहि उपभोक्तासहित अब नगरपालिकामा पनि लाइन दिनु पर्छ भन्ने कुरा भएको थियो । तर अहिले जसरी लाइन लगिने भनिएको छ । यस्तो खालको कुनै पनि समन्वय भएको थिएन । यसरी नगरपालिकाले हस्तक्षेप गरेर लिन खोज्नु भयो । नगर नै सरकार हो समितिले एकखाले व्यवस्थापन गर्ने हो । तर सरकारले चाहे त जे जस्तो पनि हुने रहेछ । अहिले यति ठूलो घटना घट्यो ।” नगरपालिकाका जनप्रतिनिधिको जिद्दीका कारण यस्तो घटना घटेको उनको भनाई छ ।
समितिका उपाध्यक्ष हिरु कामीले पनि नगरपालिसँग यस विषयमा कुनै बठक निर्णय नभएको बताएका छन् । उने भने, “घटनापछि समितिको बैठक बसेको थियोे र यस विषयमा सोधपुछ गर्दा विद्युत प्राविधिकले समेत पालिका उपाध्यक्ष र वडाध्यक्षको निर्देशनमा विद्युत छोडेको भन्दै जवाफ दिए ।” तर घटना घट्नुु अघि भने नगरपालिकासँग विद्युत छोड्ने बारे कुनै समन्वय नै नभएको समितिका उपाध्यक्ष हिरु कामीले जानकारी दिए ।
के हो घटना ?
करिब एकवर्ष अघि गाउँकै स्थानीयको श्रमदानमा नगरपालिकाको सिराडी डाडाँबाडा मेल्डुस्का जैलु बड्डाला भिडीगाउँ चोलु डोग्डेबाडा र लौटारुखका बस्तीसम्म सिमगाड जलविद्युत सञ्चालनमा आएको थियो । ६५ किलोवाट क्षमता भएको सिमगाड जलविद्युत सञ्चालनमा आएपछि ९ वटा गाउँमा बिजुली पुगेको थियो । उक्त जलविद्युतको तार नगरपालिकाको तारसँग जोड्न भन्दै उपमेयर बोहराले बिहानैदेखि जबरजस्ती गरिरहेको त्यहाँका प्राविधिकहरुले बताएका छन् । आयोजनाको तार नगरपालिकाको तारसँग जोडेर त्यही दिन उपप्रमुख बोहरा उद्घटन गर्ने योजनामा थिए । विद्युत प्राविधिक कल कार्कीका अनुसार पालिकाको वडा नं ३ का वडाध्यक्ष जगविर रोकायको समन्वयमा उपमेयर बोहोराले बिना कुनै सूचना विद्युत छोड्न बारम्बार निर्देशन दिइरहेका थिए ।
कार्कीले भने,“बिहानै देखि बारम्बार उपमेयरसापले बत्ति छोड्दिनु भनिरहनु भएको थियो । अरुबेला सूचना दिएर रातिमात्रै विद्युत दिने गरेको थियो तर त्यो दिन उपमेयर र वडाध्यक्षले नै लाइन छोड्दिनु पर्यो भन्दो बारम्बार भनिरहनु भयो । त्यसपछि उपमेयरकै निर्देशनमा हामीले पनि लाइन छोड्यौं । करिब २ बजेतिर त ति बालकलाई करेन्ट लागेछ । त्यसको केही समयपछि वडाध्यक्ष ज्युले फोन गरेर लाइन अफ गर्नु पर्यो यहाँ यस्तो भयो भन्नु भयो । तर मैले पहिले नै शंका लागेर अफ गरिसकेको थिए ।”
यता अर्का प्राविधिक लोकराज विस्टले उपमेयरसहित विद्युत समितिले बत्ति छोड्नुस् भनेपछि आफूहरुले लाइन छोडिदिएको बताएका छन् । उनले भने,“विद्युत समिति र नगरपालिकाबाट बत्ति छोडिदिनुस् भनेपछि हामीले नछोड्ने कुरै हुँदैन किनकी हामी आफ्नो मर्जीले चल्ने कुरा पनि भएन । १ गतेबाट नै उपमेयर लगायत वडाध्यक्ष र मेयरले लाइन छोड्नु भन्दै फोन गरिरहनु भएको थियो । हामीले अनुमतिबिना बत्ति छोड्न अधिकार हुँदैन त्यसैले अनुमतिका अनुसार नै हामीले बत्ति छोडेका हौं ।”
अहिले करेन्ट लागेको ठाउँबाट प्रहरीले मुचुल्का उठाएको छ । अव्यवस्थित रुपमा टाँगिएका तारहरु अहिले पनि जोखिम अवस्थामै छन् ।
के भन्छन जनप्रतिनिधि ?
यता उपमेयर रामबहादुर बोहराले भने आफ्नो यो विषयमा संलग्नता नै नभएको भन्दै बचाउमा उत्रिएका छन् । नगरपालिकामा विद्युत जोड्ने निर्णय भएकोले बत्ती छोड्नु भनेर विद्युत प्राविधिकलाई फोन गरेको भने स्विकार गरेका छन् । “ मैले प्राविधिकलाई फोन मात्र गरेको हु । मलाई यो विषयमा अरु केही जानकारी छैन । मेयर र वडाध्यक्षलाई सोध्नुस् ।” उनले भने । यो विषयमा आफ्नो कुनै भूमिका नै नभएको उनको दाबी छ ।
यता नगरपालिका मेयर जनकबहादुर बोहराले भने यस बिषयलाई ठूलो मुद्दाका रुपमा नलिन भन्दै तर्क दिएका छन् । “त्यहाँको कम्युनिटीले आफैले चलाएको विद्युत हो । यसमा कसैको इन्टेन्शन बच्चालाई मार्ने अथवा घाइते गराउने थिएन । अब यसमा को दोषी हो भन्ने अधिकार हामीसँग छैन । दुर्घटना भयो धन्न मान्छे बच्यो । कुनै पनि क्राइममा इन्टेन्सन हुन्न के !” हामीले यो विषयमा थप प्रश्न गर्दा उनले धम्की शैलीमा भने, “बरु तपाईको इन्टेन्शन् के हो म बुझ्दै छु । एउटा समुदायमा भएको घटनालाई बल्झाउने काम नगर्नूस् । तपाईहरुको काम त राजनीतिलाई ठिक ठाउँमा ल्याउन सहयोग गर्ने पो हो त सानो कुरालाई ठुलो बनाउने होईन ।”