पीडितलाई सांसदहरूको एक दिनको तलब
काठमाडौं, साउन ९ । प्रतिनिधिसभाले बाढीपहिरो र डुबान पीडितहरूको उद्धार, उपचार र राहतमा कुनै कमी हुन नदिन नेपाल सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले बाढीपहिरोको विषयमा छलफल गरेपछि विशेष प्रस्ताव पारित गर्दै सरकारको ध्यानाकर्षण गराइएको हो ।
‘प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई सक्दो सहयोग गर्न संघ, प्रदेश र स्थानीय तह, सामाजिक संस्था, दल र अन्य सबैमा अपील गर्छ,’ विशेष प्रस्तावमा उल्लेख छ ।
बैठकको सुरुमा प्राकृतिक विपत्तिका विषयमा कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजालले ल्याएको सार्वजनिक महत्त्वको प्रस्ताव पेस भएको थियो । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र कांग्रेस सांसद पुष्पा भुसालले समर्थन गरेको उक्त प्रस्तावमाथि सांसदहरूले छलफल गरेका थिए । सदनमा उठेका प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले दिएपछि सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिलाई पारित भएको थियो ।
१० दिनअघि सार्वजनिक महत्त्वको प्रस्ताव पहिले कि गृहमन्त्री थापाले पहिले बोल्ने भन्ने विवादमा प्रतिनिधिसभाको बैठक रोकिएको थियो । बुधबार कांग्रेसले सांसद रिजालले पेस गरेको प्रस्तावमाथि सुरुमा छलफल गर्ने भन्ने सहमति भएपछि बैठक चलेको हो । बैठकअघि सभामुख महराको कार्यकक्ष सिंहदरबारमा सत्तापक्ष र विपक्षका सांसदहरूबीच छलफल भएको थियो ।
प्रतिनिधिसभाले बाढीपहिरो पीडितलाई सहयोगका लागि सरकारी राहतकोषमा सांसदहरूको एक दिनको तलब दिने निर्णय गरेको छ । कान्तिपुर दैनिकबाट