काठमाडौँ, साउन १० । प्रायः सबै पुरुषले आफ्नो जीवनकालमा एकपटक कम्मरमुनिको दुखाइको अनुभव गरेका हुन्छन् । कम्मरमुनि दुख्नुमा मूत्र प्रणाली, प्रजनन प्रणाली तथा प्रोस्टेटको समस्या भएको बुझ्न सकिन्छ । मुख्यतया यी तीन कारणले पुरुषमा कम्मरमुनि दुख्ने समस्या हुन्छ ।
पिसाब पोल्नु
पिसाब पोल्नुलाई कम्मरमुनिको दुखाइको मुख्य कारण मानिन्छ । पिसाब संक्रमण, प्रोस्टेटको आकार बढ्नु तथा मूत्रथैलीमा मासु पलाउनाले पिसाब पोल्ने गर्छ । छिटो–छिटो पिसाब लाग्नु, पिसाब ननिख्रिनु, मसिनो धारा आउनु, पिसाब थाम्न नसक्नु, पिसाब फेरिसकेपछि पनि पुनः लागिरहनु अथवा थोपा–थोपा गइरहनु आदि पिसाब पोल्नुका लक्षण हुन् । यस्ता समस्या देखिएमा तुरुन्त युरोलोजिस्टकहाँ जानु उचित हुन्छ । रोगको निदानपछि औषधि सेवन गर्नुपर्छ । ल वेलैमा उपचार नगरेमा संक्रमण मिर्गाैलासम्म पुगी युरोसेप्सिस हुन सक्ने खतरा हुन्छ । जसका कारण बिरामीको ज्यान पनि जान सक्छ । मूत्रथैली र मिर्गौलाको अवस्था पनि जोखिममा आउन सक्ने सम्भावना रहन्छ ।
पेल्भिसमा दुख्नु
पिसाब फेर्दा पेल्भिसमा असाध्यै दुख्नु, पिसाब एक्कासि रोकिनु र ज्वरो आउनुजस्ता समस्या आएमा प्रोस्टेट ग्रन्थीको संक्रमण भएको बुझिन्छ । पिसाब र प्रोस्टेट ग्रन्थीबाट आउने पिपलाई प्रयोगशालामा कल्चरका लागि पठाइन्छ । र, एन्टिबायोटिक दिएर उपचार गरिन्छ । समयमै उपचार नगरे यसले युरोसेप्सिस गराएर बिरामीको ज्यान जोखिममा पार्न सक्छ । मूत्रप्रणालीको तल्लो भागमा पत्थरी भएको अवस्थामा पनि यस्तै प्रवृतिको दुखाइ हुन्छ । यस्तो किसिमको पत्थरीले मिर्गौला फेलसमेत गराउन सक्छ ।
अन्डकोष दुख्नु
एक्कासि अन्डकोष दुखेमा यसलाई सहज रूपमा लिनुहँुदैन । सामान्य एन्टिबायोटिकले उपचार गर्न सकिने संक्रमणदेखि अन्डकोष नै काटेर फाल्नुपर्ने जटिल समस्या पनि हुन सक्छ । अन्डकोषको दुखाइ प्रायः एकदमै कडा हुन्छ, जसले गर्दा बिरामीलाई हिँड्डुल गर्न पनि असहज हुन्छ । यस्तो अवस्थामा अन्डकोष सुन्निनु स्वाभाविक मानिन्छ । ल अण्डकोष अत्यधिक सुन्निएमा रक्तनली बन्द भई यो काम नलाग्ने हुन सक्छ । यस्तो अवस्थामा इमर्जेन्सी अप्रेसनमार्फत अन्डकोष फाल्नुपर्ने हुन्छ । तसर्थ, यस्तो अवस्था आएमा जतिसक्दो चाँंडो युरोलोजिस्टको सल्लाह लिई अन्डकोष जोगाउने उपचारतर्फ लाग्नुपर्छ । नयाँ पत्रिकाबाट