‘विवादित व्यापारी पाण्डेको ‘थोत्रो’ घरमा अपराध महासाखा : भद्रगोल घरमा प्रहरी हैरान !

दियो पोस्ट  

काठमाडौं, २८ असार । जघन्य प्रकृतिका अपराधको घटना अनुसन्धान गर्दै आएको महानगरीय अपराध महासाखा केहीदिन अघि काठमाडौंको टेकुबाट मिनभवन सर्यो ।


मिनभवनस्थित नेपाल कमर्श क्याम्पसको पश्चिमी दिसातर्फ भित्र सरेको अपराध महासाखाको कार्यालय अस्तव्यस्त र भद्रगोल रहेको पाइएको छ ।


अपराध महासाखा सरेको घर तथा जग्गाको स्वामित्व विवादित कन्सल्टेन्सी व्यापारी विष्णु हरी पाण्डेको हो । करिब साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा २ वटा भवनहरु छन् । माथिल्लो रातो घरमा २ वटा तला र ७ वटा कोठाहरु रहेका छन् । जुन घरमा महासाखाका प्रमुख एसएसपी दीपक थापाहितका उच्च अधिकारीको कार्याकक्ष रहेको छ । तर, यो घर भूकम्पले पूर्ण रुपमा चर्किएको प्रष्ट देख्न सकिन्छ । तल्लो घरमा रहेको ८ वटा कोठामा भने प्रहरीले आफ्नो ‘पिलर’ राखेको छ ।


महाशाखा पुग्न सेवाग्राहीलाई निकै अपायक परेको एक सेवाग्राहीले दियोपोष्टलाई बताए । त्यति मात्रै होइन महासाखाको भवन भित्र प्रवेश गर्ने गेट नै धराप बनेको छ जसबाट ठूलै दुर्घटना हुन सक्ने आशंका समेत गर्न सकिन्छ ।


‘गेटमा ढल्न लागेको ठूलो पिलरले कुन दिन मानिसलाई चेप्ने हो । यस्तो ठाउँमा कसरी कार्यालय आइपुग्यो हामी त अचम्ममा छौँ,’ एक प्रहरीले भने,‘हुन त हाकिम सापहरुको के–के स्वार्थ होला । तर, यो ठाउँ महासाखालाई उपयुक्त होइन ।’

शौचालय


फौजी संगठन ब्यारेक सिस्टममा अनिवार्य बस्नुपर्ने हुन्छ । तर, महासाखा अहिले सरेको घरमा न कुनै ब्यारेक सिस्टम छ न त प्रहरीले सुत्न पाएका छन् ।

‘यहाँ हामीले सुत्न समेत पाएका छैनौँ । पानी समेत धमिलो छ । शौचालय त्यस्तै छ । महिला शौचालय जान कठिन छ,’ अर्का एक प्रहरी कर्मचारीले नाम नबताउने सर्तमा भने,‘ट्यांकीको पानी धमिलो आउँछ । त्यस्तो पानीले रोग निम्त्याउने होकी भन्ने डर लाग्न थालेको छ ।’


माथिल्लो रातो भवनमा पानी समेत चुहिने गरेको एक प्रहरी कर्मचारीले बताए ।


महासाखा केही समयका लागि भाडामा सरेको उक्त भवन निर्माणकै क्रममा छ । ‘यहाँ झाडी थियो । यो झाडी पोल्न मात्रै ९ दिन लाग्यो । हामीलाई उपल्लो पटि घरबेटीले बनाउनु भनेर आएका हौँ,’ निर्माणमा कार्यरत एक मजदुरले दियोपोस्टसँग भने,‘काम सकिन धेरै समय लाग्छ होला । धेरै काम बाँकी छ ।’


उपत्यका भित्रका मात्रै होइन देशैभरका गम्भिर प्रकृतिका घटना अनुसन्धानमा अघि सर्नुपर्ने अपराध माहासाखाको पार्किङ समेत नभएपछि सेवाग्राहीहरु बाटोमै गाडी पार्किङ गरेर राख्छन् । सडकमा पार्किङ गर्दा सर्वसाधरणको सवारी साधनमा ‘लक’ लगाउने प्रहरीका हाकिमहरुकै गाडी समेत सडकमै अलपत्र रुपमा पार्किङ गरेको अवस्थामा देखिन्छ ।


निर्माणकै क्रममा रहेको उक्त भवनमा कसले के स्वार्थका आधारमा ‘ब्यारेक’मा रुपान्तरण गर्यो भन्ने रहस्य खुलेको छैन ।


रोयल एजुकेशन फाउण्डेशन नामक कन्सल्टेन्सी मार्फत नक्कली विवाहको धन्दा चलाएको आरोप लागेका विवादित कन्सल्टेन्सी व्यापारी पाण्डेको घरमा महानगरीय प्रहरी अपराध महासाखा जस्तो जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने प्रहरी युनिट सारिनुलाई भने रहस्यको रुपमा हेरिएको छ । अपराध महासाखाले नै कन्सल्टेन्सीहरुको ठगी तथा अपराध अनुसन्धान गर्दै आएको छ ।


के बिना टेण्डर भाडा सम्झौता भएको हो ?


प्रहरी वा कुनै पनि सरकारी निकायले घर भाडामा लिनुअघि सार्वजनिक सुचना मार्फत टेण्डर आह्वान गर्नुपर्छ । तर, अपराध महासाखाले भवन सर्नुअघि टेण्डर समेत नगरेको खुलेको छ । तर महानगरीय प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी दीपक थापा भने सबै प्रक्रिया पुर्याएरै भवन भाडामा लिइएको बताउँछन् । ‘रेन्ट कमिटि हुन्छ । उसैको मुल्यांकनको आधारमा हुने हो । उसैले सुचना निकालेरै गरेको हो । सुचना गोरखा पत्रमा छापियो छापिएन मलाई थाहा छैन । तर, हाम्रो वेभसाइटमा राखिएको छ । सिडिओ अफिसमा, कोलेनिकामा सबै ठाउँमा हो । हाम्रो महानगरीय अपराध महासाखाको वेभसाइटमा पनि हो ’ थापाले भने ।


तर, उनले भनेअनुसारको टेण्डरको सुचना प्रहरीको आधिकारीक वेभसाइटमा छैन । महानगरीय अपराध महासाखाको वेभसाइट http; |/www.crimediv.gov.np/ क्लिक गर्दा उक्त साइट नै खुल्दैन ।


मासिक भाडा ४ लाख ९० हजार !


महासाखा प्रमुख ‘हाकिम’ एसएसपी थापाका अनुसार सार्वजनिक खरिद नियमावलीमा सिडिओको नेतृत्वमा रेन्ट कमिटि हुन्छ । ‘यीनीहरु मान्यता ६ लाखको थियो । रेन्ट कमिटिले प्राविधिक मुल्यांकन गर्दा चार लाख ९० हजार र त्यसमा १० प्रतिशत कर कटाएर उसले पाउँछ,’ एसएसपी थापाले प्रश्न थियो,‘सबै बनाउने हो । अहिले यस्तै छ । बन्दै छ बनिसकेपछि एक महिनापछि आएर हेर्नुस् । सबै यस्तो कुरा गर्नु भयो भने मैले कसरी जवाफ दिन सकुँला र ? हामीलाई त्यहीँ बस्ने रहर थियो तर सरकारले ७२ करोडको भवन बनाइदिने भयो ।’


घरबेटी पाण्डेले घरभाडा भन्न अस्विकार गरे…

महासाखालाई घर भाडामा दिने घरबेटी विष्णुहरी पाण्डे शैक्षिक परामर्शदाता कन्सल्टेन्सी व्यावसायीको छाता संगठन इक्यानका पूर्व अध्यक्ष समेत हुन् । घरभाडामा दिएको विषयमा पाण्डेलाई प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गरेको थियो ।

विष्णुहरी पाण्डे


‘अपराध महासाखालाई भाडामा दिएको घर जग्गा सहित क्षेत्रफल करिब साढे तीन रोपनी छ । प्रकृयागत ढंगले टेण्डरमार्फत भाडामा दिएका हौँ,’ पाण्डेले भने,‘ सरकारी प्रकृया निकै लामो हुँदो रहेछ । कुनै कुनै संरचना निर्माणकै क्रममा छ । त्यो पनि हामीले नै बनाउने हो , बनिरहेको छ । शौचालय, पार्किङ क्षेत्र बन्ने क्रममै छन् । तरपनि बस्नको लागि त्यति धेरै सकस छैन ।’


पाण्डेको यो भनाईले अपराध महासाखाले घर पुरै नबन्दै भाडामा लिएको पुष्टि हुन्छ । भाडा रकमबारे घरबेटी पाण्डेलाई प्रश्न गर्दा उनले बताउन चाहेनन् । ‘भाडाको विषयमा खुलाउन मिल्दैन । सरकारले तोकेको मापदण्ड अनुसार नै भाडा सम्झौता भएको हो ।’

स्रोतका अनुसार भाडा रकममा अपराध महासाखाका उच्च अधिकारीले मिलेमतो ठूलै रकम हात पार्ने दाउ समेत गरेका छन् ।