
काठमाडौं, २९ असार । मुलुकको प्रतिष्ठित दैनिक दाबी गर्ने कान्तिपुर दैनिकका सर्कुलेशन म्यानेजर मनोज बस्नेतमाथि रकम हिनामिना गरेको आरोप लागेको छ ।
बस्नेतलाई रकम हिनामिनाको आरोप लगाउने कुनै व्यक्ति होइनन् कान्तिपुरकै पूर्व लगानीकर्ता समेत रहेका रामेश्वर थापा मालिक रहेको अन्नपूर्ण पोष्ट हो ।
अन्नपूर्ण पोष्टले सोमबार प्रकाशित पत्रिकाको तेस्रो पृष्ठमा तस्विर सहित बस्नेतले एजेन्सी तथा विक्रेताबाट विभिन्न शिर्षमा रकम असुल उपर गरेको प्रमाणित भएको आरोप लगाइएको छ ।

बस्नेतले सम्बन्धित विभागमा भने रकम नबुझाएर हिनामिना गरेको र बारम्बार ताकेता गर्दा पनि कार्यालयमा उपस्थित भई हिसाब चुक्ता गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै ७ दिन भित्र कार्यालयमा उपस्थित भइ हिसाब मिलान गर्न चेतावनी दिएको छ ।
उपस्थित नभए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
अन्नपूर्ण पोष्टको बिजनेश व्युरोमा आउनु अघि बस्नेत कान्तिपुरमै कार्यरत थिए । तर, केही महिनाअघि अन्नपूर्ण छाडेर उनी पुन कान्तिपुरकै सर्कुलेशन विभागमा फर्किएका थिए । हाल कान्तिपुर दैनिकको सर्कलेशन म्यानेजरको रुपमा कार्यरत बस्नेतमाथि यस्तो आरोप लागेपछि उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।