
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकका लागि झापाका दिपक पाठकले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र पाठक यस अघि पनि दुई वर्ष बोर्ड सदस्यमा नियुक्ति पाएका थिए । कार्यकारी निर्देशक हुनका लागि पत्रकार आचारसंहिता उलंघनको सजाय नपाएको भनिएपनि उनी पटक पटक सजाय पाएका व्यक्ति हुन् ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) मा कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा छनौट गर्ने भनि खोलिएको सूचनामा बन्दाबन्दीको समयमा पनि अनलाइन फर्मको व्यवस्था गरिएन । यहि असार १३ गते गोरखापत्र दैनिकमा प्रकाशन गरिएको १५ दिने सूचनामा अहिले आधा दर्जनले दाबी गर्दै आवेदन गरेका छन् ।
आइतवार अन्तिम मितिसम्म दिपक पाठक, सन्तोष पौडेल, लक्ष्मण हुमागाई, अशोक बास्कोटा, बुद्धि बहादुर केसी र अच्युतम पोखरेलले दरखास्त दिएका छन् ।
रेडियो नेपाल जस्तो पुरानो समाचार प्रसारक संस्थाले नै बन्दाबन्दीका समयमा अनलाईन फर्म बनाएर प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गराउन नसक्नुमा विज्ञह्रुले आश्चर्य मानेका छन् ।
विज्ञापन गर्दा रेडियो नेपालले लकडाउनमा गर्नुलेै धेरै जनाले प्रतिस्पर्धा नगरुन् भन्ने मनसाय देखिन्छ ।
रेडियो कार्यकारी निर्देशकका लागि दाबी गरिएका मध्येका दिपक पाठक नेकपाका अध्यक्ष प्रचण्डलाई फेसबुकमा तथानाम लेखे बापत साईबर क्राइम अन्तर्गत पक्राउ परि तीन दिन थुनामा परेका थिए ।
उनी ३५ हजार धरौटीमा रिहा भएका हुन् । त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट बुद्धि बहादुर केसीको नाम अगाडि सारेका छन् । कार्यकारी निर्देशक हुनका लागि नेताहरुको घर आशिर्वाद लिने धाउनेहरुको लिगलिगे दौड सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले भने कुनैपनि हालतमा दिपक पाठकलाई नै कार्यकारी निर्देशक बनाउने किचेन क्याबिनेटका एक जना सल्लाहकारले नाम नबताउने शर्तमा खुलासा गरेका छन् । पाठकलाई यस अघि पनि प्रधानमन्त्री ओलीकै जोडबलमा प्रेस काउन्सिल सदस्यका लागि नियुक्ति गरिएकोमा अयोग्य भएकाले बदर गरिएको थियो ।