
काठमाडौँ, साउन ५ । केहि दिनदेखिको अविरल बर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनाएको छ । सोमबार बिहान देखि परेको अविरल बर्षाले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न क्षेत्रहरुमा विपत्ती निम्त्याएको छ ।
हनुमन्ते खोलामा बाढी
सोमबार बिहानदेखिको अविरल बर्षाले हनुमन्ते खोलामा बाढी आएको छ । हनुमन्ते खोलाको बाढीको कारण भक्तपुर क्षेत्रका २५ भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्ते खोलाको बाढीले १ किलोमिटर क्षेत्र जलमग्न भएका छन् ।
हनुमन्ते खोलाको बाढीका कारण २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई स्थानान्तरण गरिएको छ भने खतरामा रहेका वस्तीमा सतर्कता अपनाइएको बताइएको छ ।
पृथ्वी राजमार्गमा पहिरो, सडक अवरुद्ध
अविरल बर्षाको कारण सोमबार काठमाडौँलाई जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका दर्जनौँ स्थानमा पहिरो गएपछि सवारी आवागमन पुर्ण रुपमा बन्द भएको छ ।
फिस्लिङ बजार वरपर ५र६ वटा र मौवाखोला वरपर पनि ४र५ ठाउँमा पहिरो खसेको छ । बाढीले धादिङको मोवाखोलामा पुल नै भत्काएको छ । काठमाडौं आउँदा चितवनबाट धादिङ प्रवेश गर्ने मोवाखोलाको धादिङतर्फको खण्डमा खोलाले पुल बगाएको हो । मोवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु बगाएका छन् । तर मानवीय क्षति भएको छैन । धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फुर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ ।
नारायणी नदीमा पानीको सतह खतराभन्दा माथि
सोमबारको बर्षासँगै नारायणी नदीमा पानीको वहाब बढेको छ । देवघाट क्षेत्रमा पानीको सतह ९ मिटरभन्दा माथि पुगेको छ भने पुलचोक लगायतका क्षेत्रमा १२ मिटरभन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
नारायणीमा पानीको बहाव बढेसंगै भरतपुर नगरपालिकाका विभिन्न वडाहरुमा बाढी पसेको छ । त्यस्तै वडा नम्बर २६ का तीन वटा गाउँ डुबानमा परेका छन् । उनिहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
‘केरुङ च्छे’ ताल फुट्ने खतरा
सोमबारको अविरल बर्षासँगै चिनको खासामा अवस्थीत केरुङ च्छे तालमा पानी भरिएको छ । चीनियाँ अधिकारीहरुले जिल्ला प्रशासन कार्यलयमा त्यसबारेमा सचेत गराइसकेको छ । जिल्ला प्रशासन कार्यलयले पनि एक सुचना जारि गर्दै भोटेकोशी क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सानुपर्ने बताइएको छ ।
साना ठुला नदीमा पानीको बहाव बढ्यो
सोमबार उपत्यका लगायत उपत्यका बाहिरका विभिन्न साना ठुला नदिमा पानीको बहाव बढेको छ । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका नदीहरुमा पानीको बहाव अस्वभाविक रुपमा बढेको छ ।
त्यस्तै दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण शिवाकोटीले बताए ।
हालसम्मको क्षति
गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार साउन ४ गते आइतबार देखि ५ गते बिहान १० बजेसम्म विभिन्न जिल्लामा १२ स्थानमा पहिरो गएको छ । चार स्थानमा अविरल वर्षा, २ स्थानमा बाढी, १ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ८ स्थानमा सडक अवरुद्ध भएको तथ्याङ्कमा उल्लेख छ । २४ घण्टामा १९ वटा घटनाहरु घटेका छन् ।
प्राधिकरणका अनुसार २०७७ जेठ ३० गते देखि साउन ४ गतेसम्म पहिरो, बाढी र चट्याङ्गबाट १ सय ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । घटनामा परी ४८ जना वेपत्ता भएका छन् । तथ्याङ्कअनुसार पहिरोबाट १ सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् । बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते र ५ जना बेपत्ता भएका छन् । चट्याङ्मा परी १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।