सीतापाइला सहकारीमा ऋण अपचलन : सञ्चालककै नाममा १० औँ करोड ऋण !

दियोपोस्ट संवाददाता

विवेक अर्याल

काठमाडौं । सञ्चालकहरुले मनोमानी रुपमा ऋण अपचलन गरेकै कारण ठूला बैंक तथा सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै आएका छन् ।


सहकारीको सामान्य सिद्धान्त पनि पालना नगर्दा ठूला सहकारीहरुले अहिले निक्षेपकर्ताको अबौं रुपैया हिनामिना गरेका छन् । सदस्यहरुले धितो राखेर पनि कामका लागि ऋण नपाउने तर, सञ्चालकले बिना धितो आफु र आफन्तका नाममा धमाधम ऋण निकालेको प्रमाण पटकपटक सार्वजनिक भइरहेको छ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले शुन्य प्रतिशतमा ऋण अपचलन गरेको प्रमाण सार्वजनिक हुँदा पनि सरोकारवाला निकाय मौन छन् । सहकारी संस्थाको अनुगमनका लागि स्थापना गरिएको सहकारी विभाग र प्रदेश सहकारी, डिभिजन सहकारीहरु नाम मात्रैका रहेछन् भन्ने प्रमाण त भण्डारीकै अपचलनमा छानबीन नहुनुले देखाउँछ ।


धेरै जसो सहकारी संस्थाहरुमा सेवा शुल्क र बिभिन्न जरिवाना थपेर सामान्य मानिसलाई सहकारीको रकम मिटर ब्याजमा लगाउने धन्दावालाको जस्तै महंगो हुने गरेको गुनासाहरु पनि आउने गरेका छन् । त्यसैले राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री चित्रबहादुर केसीले सहकारी संस्थालाई साउकारी भनेर सम्वोधन गर्ने गरेका थिए ।

बैकहरुमा पनि सञ्चालक र आफन्तका नाममा कमिसन लिएर प्रशस्त ऋण लगानी गर्दा परिणाम स्वरुप कमल ज्ञावली सिइओ रहेको किस्ट बैंक, उत्तम बहादुर पुन अध्यक्ष रहेको नेपाल विकास बैंकहरु धारासायी बन्न पुगे । किष्ट बैंकका सञ्चालक कमल ज्ञावलीले आफ्नै श्रीमती र नातेदारका नाममा ऋण लिने गर्दर्थे । त्यसै गरी उत्तम पुनले पनि कमिसन लिएर कमसल धितोमा अत्याधिक बढि ऋण प्रवाह गर्दै आएका थिए ।


सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा सहकारी ऐन बिपरित सञ्चालकहरुकै नाममा झण्डै दशौ करोड रुपैया ऋण लिएको विवरण पाइएको छ । त्यसो त एक जना व्यक्तिलाई विना धितो ८५ लाख रुपैया ऋण दिइएको छ । ५३९९ जना शेयर सदस्य रहेको सहकारीमा सञ्चालकका कारण बचतकर्ता र सदस्यहरुको रकम जोखिममा पर्ने अवस्था आएको भन्दै सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।


सीतापाइला सहकारीको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष केदार मानन्धर, उपाध्यक्ष सुदर्शन शाही ठकुरी, कोषाध्यक्षमा हारुण रसिद, सचिव सबिना शाक्य, सञ्चालकहरुमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, गौरी प्रसाद दवाडी र डा. तारक बहादुर केसी छन् । यि मध्ये सबै भन्दा बढि कार्यकारी अध्यक्ष मानन्धर, सचिव शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीका आफन्तका नाममा लिइएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले ६४ लाख ११ हजार २३ रुपैयाँ र बहिनी चाँदनी गिरीका नाममा एक करोड ३९ लाख ६८ हजार तीन सय आठ रुपैया ऋण लिएका छन् । कार्यकारी अध्यक्ष केदार मानन्धरकी श्रीमती शर्मिला मानन्धरका नाममा एक करोड ५० लाख ७९ हजार दुई सय ९८ रुपैया ऋण लिएको देखिन्छ । सचिव शाक्यले दुई करोड २४ लाख ४४ हजार ६ सय ७४ रुपैया ऋण लिएकी छन् ।


सीतापाइला सहकारीले ऋण दिएको भनिएको एपेक्स डेप्लोपर संस्था नै नभएको बताइन्छ । उक्त संस्थाले एक करोड २४ लाख ऋण लिएको छ । त्यसै गरी कार्यकारी अध्यक्ष मानन्धरका भाइ केदार मानन्धरले पनि एक करोड ४३ लाख २७ हजार दुई सय पञ्चानब्बे रुपैयाँ ऋण लिएको विवरणमा देखिएको छ । सहकारीको पैसा बिभिन्न व्यक्तिको नाममा घरजग्गामा समेत लगानी गरिएको बुझिएको छ । साथै तुलसी मगरलाई बोर्डमा जानकारी नै नदिई बिना धितो ८५ लाख रुपैया ऋण दिइएको स्रोतले बताएको छ ।


२०५६ साल फागुन ९ गते दर्ता भएको सहकारीको नागर्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र काठमाडौंका केहि वडाहरुमा कारोबार गर्दै आएको छ । ९३ करोड ४१ लाख २१ हजार ७६८ रुपैया निक्षेप रहेको सहकारीमा कुल सम्पत्ति २० औ साधारणसभासम्ममा १ अर्ब ९ करोड ९६ लाख १९ हजार दुई सय ३४ रुपैया रहेको छ ।


किन बोलेन लेखा समिति ?


सञ्चालकहरुले गरेका गैर कानूनी कामहरु हेर्ने सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लेखा समिति पनि मौन बसेको छ । सहकारीमा लेखा समितिको संयोजकमा सुन्दर पन्त र सदस्यहरुमा मनमैया गिरी र प्रेम बहादुर मानन्धर छन् ।

के भन्छन् कार्यकारी अध्यक्ष मानन्धर ?


सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्ष केदार मानन्धरसँग सहकारीको स्थापित मापदण्ड र बिना धितो करोडौं रुपैया ऋण प्रवाह गरेको सम्बन्धमा ऐनको उलंघन गरेको विषयमा प्रतिक्रिया लिँदा उनले केहि समयमा नै असुल उपर गरिने बताए र तर, ऐन, कानून र मापदण्डको धज्जी उडेको विषयमा भने घुमाउरो तरिकाले स्वीकार गरेका छन् ।


के छ कानूनी व्यवस्था ?

राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा सहकारी संघका कानूनी सल्लाहकार एवं उच्च अदालत बार एशोसियसन पाटनका अध्यक्ष अधिवक्ता रामचन्द्र सिंखडाका भन्छन् ‘सहकारी संस्थामा सञ्चालक समितिमा रहेका कसैले पनि ऋण लिन पाइदैन । तर, कतिपय सहकारीहरुले जानी बुझिकनै यस्ता काम गर्दै आएका छन् । त्यसैकारण समस्याग्रस्त अवस्था सिर्जना भएको हो । यसको कडाईका साथ पालना गराउनुपर्दछ’ ।


के भन्छ नियामक निकाय सहकारी विभाग ?


सहकारी विभागका सूचना अधिकारी सुरेन्द्र पौडेलका अनुसार सहकारी संस्थाका सञ्चालकहरुले ऋण लिन नपाउने भनेर कहि कतै नलेखिएको तर, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नैतिक रुपमा पनि लिन नमिल्ने बताए ।

सम्बन्धित खबर

सिफारिस