काठमाडौं, १९ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का अन्ततः विवादास्पद कम्पनि म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लीले हात पारेको छ ।
अस्पतालका प्रमुख कार्यकारी प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले उक्त कम्पनिलाई ठेक्का दिएका हुन् । १२ करोड ४३ लाख रुपैयाँको उक्त ठेक्कामा डरलाग्दो सेटिङ देखिएको छ ।
ठेक्का सुचनामा पनि उनले ‘प्रमुख कार्यकारी स्तरिय’ निर्णय भन्दै म्याक्सिमलाई दिन विवादास्पद निर्णयको सुचना आजको कान्तिपुर दैनिकमा छापेका हुन् ।

गत असार ११ गते वीर अस्पतालले १५ करोड बराबरको ठेक्का आह्वान गरेको थियो । एक्सरे मेसिन, युएसजी मेसिन लगायतको सामग्री खरिदको करिब साढे २ करोडको ठेक्का भने नेश्नल इलेक्ट्रोटेक प्रा.लीलाई दिएको छ ।
वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिम उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृष्य लगानी रहेको कम्पनि हो । यो कम्पनिका देखिने मालिक सुन्दर भुषालसँग वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको विभिन्न अन्य कम्पनीमा साझेदारी छ ।
यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिन लागेको भन्दै दियोपोस्ट लगायत सञ्चार माध्यममा खबर आएपछि वीर अस्पतालको तत्कालिन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रण सम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो ।
उनको नियुक्तीसँगै ५ अर्ब बरारको ठेक्का हत्याउन आफ्नै कम्पनि समलग्न गराउने खेल शुरु भएको थियो । डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ती दिएर खेल शुरु गरेका थिए । भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरि स्पेसिफिकेशन गरेको स्रोतको दाबी छ ।
डा. गौतमले खरिद ईकाइ प्रमुख भगवती थपलिया र श्याम विक लगायतलाई हातमा लिएर खरिद ठेक्का आफ्नो मान्छेलाई दिलाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बोलपत्रमा तीन वर्षको अनुभव माग गरिएको छ । तर, म्याक्सिम २ वर्ष मात्रै अनुभव छ । अनुभवै नभएको कम्पनिलाई ठेक्का दिएर गौतमले चरम भ्रष्टाचार गरेको वीर अस्पतालका कर्मचारी बताउँछन् ।