काठमाडौं, १९ असार । सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल छ । शुक्रबारको अविरल वर्षाका कारण भत्किएको सडक भन्दै भाइरल भएको उक्त तस्विर सिन्धुलीको दुधौली नगरपालिकाको लखिमा देखि अरुणठाकुर जोड्ने सडक हो ।
यो सडक स्थानिय विकास पुर्वाधार परियोजनाको साझेदारीमा एशियाली विकाश बैंकले निर्माण गरेको हो ।
दुधौली नगरपालिका वडा नं १३ का वडाध्यक्ष मिलन सुनुवारका अनुसार यो सडक विगत ७/८ वर्ष अघि नै सर्वे भएको हो । २ वर्षअघि निर्माण शुरु भएको या सडकको चौडाई ४ किलोमिटर रहेको छ । लखिमादेखि अरुणठाकुर जोड्ने यो ठेक्का इमानोयल कन्स्ट्रक्सनले पाएको थियो । इमानोयल कन्स्ट्रक्सनका मालिक क्षेत्र बहादुर बमजनका अनुसार एसिआइ कन्सट्रक्सनको काम इमानोयलले गरेको हो ।
‘चार वटा खण्ड मध्ये एउटा खण्ड हामीले निर्माण गरेको हो । कुल बजेट ७८ करोडको हो । हामीले निर्माण गरेको खण्डको बजेट २५ करोडको हो,’ ठेकेदार बमजनले दियोपोस्टसँग भने,‘पानीले यसरी विगार्छ भन्ने हामीले सोचेका थिएनौँ । तर, यस्तो गरि भत्कायो ।’
वडाध्यक्ष सुनुवारका अनुसार सडक निर्माणलाई लिएर स्थानियबासीले चर्को विरोध गरेका छन् ।
फलस्वरुप स्थानिय पूर्वाधार आयोजनाका कर्मचारी नै अनुगमनमा आएका थिए ।
सडक निर्माणमा भएको लापरबाहीको विषयमा प्रतिक्रिया लिन आयोजनाका महानिर्देशक ईश्वर मरहठ्ठालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । इन्जिनियर टंक खनालले पनि फोन उठाएनन् ।